नेपाली फिल्म ‘पूर्ण बहादुरको सारंगी’ ले हलमा राम्रो व्यापार गर्दै 

Logo
ग्रामीण सहकर्मी प्रकाशित सोमबार, कार्तिक १९, २०८१

विराटनगर /लक्ष्मीपूजाको दिन रिलिज भएको नेपाली फिल्म ‘पूर्ण बहादुरको सारंगी’ ले हलमा उत्कृष्ट व्यापार गरिरहेको छ। सुरुवाती दिनको अकुपेन्सी केही कम भए पनि शुक्रबारदेखि फिल्मले पिकअप लिएको थियो। शनिबार र आइतबारका दिन फिल्मका अधिकांश शो हाउसफुल रहे।

फिल्मको व्यापारमा बलियो ‘वर्ड अफ माउथ’ मुख्य कारण बनेको छ। सकारात्मक प्रतिक्रियाले गर्दा दर्शकको उपस्थिति बढ्दै गएपछि विभिन्न मल्टिप्लेक्सहरुले फिल्मका शो थप गरेका छन्। सोमबार, सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले फिल्मलाई ६७ शो दिएका छन्, जुन सोही समयमा रिलिज भएका दुई हिन्दी फिल्मभन्दा बढी हो। यस्तै, विराटनगरको सेन्ट्रल मल्टिप्लेक्समा पनि फिल्मलाई ४ शो दिइएको छ, जुन सबै हाउसफुल भएका छन्।

त्यस्तै, दोस्रो ठूलो मल्टिप्लेक्स चेन आईएनआईले पनि ‘पूर्ण बहादुरको सारंगी’लाई हिन्दी फिल्मको तुलनामा दोब्बरभन्दा बढी शो दिएको छ। यहाँ फिल्मलाई १८ शो दिइएको छ, जबकि ‘सिंघम अगेन’ले ७ र ‘भूल भुलैया ३’ ले ६ शो पाएको छ। बिग मुभिजमा भने नेपाली र हिन्दी फिल्मको शो बराबर छन्, जहाँ ‘सिंघम अगेन’ ले ६ शो र ‘भूल भुलैया ३’ तथा ‘पूर्ण बहादुरको सारंगी’ ले ५/५ शो पाएका छन्।

फिल्म हेरेका दर्शकहरूले यसको कथावस्तु जीवनसँग नजिक भएको र अत्यन्तै भावुक बनाएको प्रतिक्रिया दिएका छन्। ‘पूर्ण बहादुरको सारंगी’ गन्धर्व समुदायको कथा र बाबुछोराको सम्बन्धमा आधारित फिल्म हो। यो फिल्मले छोराको सफलताका लागि बाबुले गरेको संघर्षलाई चित्रण गर्छ।

फिल्मको निर्देशन तथा लेखन सरोज पौडेलले गरेका छन् भने प्रमुख भूमिकामा विजय बराल, प्रकाश सपुत, अञ्जना बराइली, मुकुन भुसाल, बुद्धि तामाङ, अलिशा बास्तोला लगायत कलाकारको अभिनय रहेको छ। निर्मातामा बिनोद पौडेल र प्याट्रिक सुवेदी छन् भने पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन्।

फिल्मको कथा र प्रस्तुति दर्शकले अत्यन्तै रुचाएका छन्, जसका कारण हलमा दर्शकको संख्यामा वृद्धि भइरहेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]