वर्षौसम्म पक्की पुल निर्माण नभएपछि बाँसको पुल निर्माण

Logo
ग्रामीण सहकर्मी / झापा प्रकाशित बिहिबार, कार्तिक २२, २०८१

झापा / हुलाकी राजमार्गअन्तर्गत कन्काई नदीमा वर्षौसम्म पक्की पुल निर्माण नभएपछि बाँसको पुल निर्माण भएको छ ।

वर्षातका बेला बाढीले बगाउने गरेपनि सहज आवतजावतका लागि हिउँद लागेपछि स्थानीय व्यवसायीले अस्थायी नै भएपनि बाँसको पुल निर्माण गरेका हुन्।

बुधबार पुल निर्माण भएपछि हुलाकी राजमार्ग भएर पूर्वपश्चिम गर्ने सर्वसाधारणले उक्त पुल प्रयोग गर्न थालेका छन्। यसअघि गौरीगञ्जको कुञ्जीबारीबाट झापा बजार जान पूर्वपश्चिम राजमार्ग हुँदै सर्वसाधारणलाई जान आउन समस्या थियो । मोटरसाइकलमा घुमेर आउँदा करिब डेढ घण्टाको समय लाग्थ्यो भने पुल निर्माण भएपछि १५ मिनेटमा आउन जान सकिने स्थानीय धिरज राजवंशीले बताए ।

अटोरिक्साले कुञ्जीबारीबाट दुधे हुँदै सुरुङ्गबाट झापा बजार पुगेको १ हजारसम्म लिने गरेको उनले बताए । अब सिटी सफारीमै कुञ्जीबारीबाट झापा बजारसम्म पुग्नलाई प्रतिव्यक्ति एक सयसम्ममा पुग्न सकिने उनले बताए । ‘सिटीभाडा यति हो भनेर ठ्याक्कै किटान गर्न त सक्दिनँ । तर दुरीका हिसाबले सयभन्दा बढी नपर्नुपर्ने हो,’ उनले भने ।

गौरीगञ्ज गाउँपालिकाले कन्काई नदीबाट निर्माण सामग्रीको बिक्री वितरणका लागि ठेक्का लगाएको थियो। ठेक्का पाएका व्यक्तिले उक्त पुल निर्माण गरेको वडा नम्बर १ का अध्यक्ष कार्तिकलाल राजवंशीले बताए । पालिकाले तोकेको दरमा सर्वसाधारणले बाँसे पुल प्रयोग गर्नेछन् । ‘पालिकाले तोकेकोभन्दा अतिरिक्त रकम ठेकेदारले सर्वसाधारणसँग असुल गरे ती व्यक्तिलाई पालिकाले कारबाही गरी ठेक्का रद्द गर्न सक्ने छ,’ उनले भने ।

गौरीगञ्ज गाउँपालिका वडा नं १ र झापा गाउँपालिका वडा नं २ को हुलाकी राजमार्गमा पर्ने निर्माणाधीन कन्काई पुल छेउमा बाँसलाई फुटाएर भाटाको पुल निर्माण भएको वडा अध्यक्ष राजवंशीले बताए । पुलबाट अटोरिक्सा, सिटी सफारी, मोटरसाइकल, साइकल र पैदलयात्री वारपार गर्न सक्छन् । कन्काईको पश्चिम क्षेत्रबाट पूर्वतर्फका झापा गाउँपालिका, बाह्रदशी, हल्दीबारी, भद्रपुरलगायत भारत गलगलियासम्म पुग्न पुल निर्माण भएपछि सर्वसाधारणलाई सजिलो भएको छ। यस्तै पूर्व क्षेत्रबाट दक्षिण पश्चिम जानका लागि कन्काईमा पुल नहुँदा महेन्द्र राजमार्ग हुँदै पश्चिम जानुपर्ने सर्वसाधारणको दिग्दारी हटेको छ ।

बर्खा सुरु भएलगत्तै कन्काई नदीमा आएको बाढीले यो पुललाई बगाउने गर्छ। र हिउँद महिना सुरु भएपछि ठेकेदारले यसरी नै कन्काईमा बाँसको अस्थायी पुल बनाएर सर्वसाधारणलाई न्यून शुल्कमा वारपार गराउने गरेको स्थानीयवासीले बताएका छन्। यसबाट सर्वसाधारणले राहत महसुस गरेका छन्। ५ फिट चौडाई भएको यो पुल १५० मिटर लामो रहेको छ । ठेकेदारका अनुसार यो पुल निर्माण गर्न करिब दुई लाख खर्च भएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]