

विराटनगर/ विश्वभर मनाइने विश्व मधुमेह दिवसको अवसरमा विराटनगरस्थित न्यूरो हस्पिटलले बिहीबार निःशुल्क मधुमेह जाँच र परामर्श कार्यक्रम आयोजना गरेको छ। झि पुचः सँगको सहकार्यमा झि पुचःको प्राङ्गणमा आयोजित यस कार्यक्रमबाट १२७ जनाले मधुमेह (पीपी, फास्टिङ) जाँच गराएका छन्। कार्यक्रमलाई अस्पतालका विशेषज्ञ चिकित्सकहरूले सञ्चालन गरेका थिए।
कार्यक्रममा विशेषज्ञ फिजिसियन डा. सागर साहले मधुमेह जाँच गराइरहेका बिरामीहरूलाई निःशुल्क परामर्श प्रदान गरे भने डाइटिसियन परामर्श पनि निःशुल्क उपलब्ध गराइएको थियो। अस्पतालले एक हप्तासम्म मधुमेह जाँचमा २५ प्रतिशत छुटको व्यवस्था पनि गरेको छ।
मधुमेह दिवसकै अवसरमा आयोजित सचेतना सत्रमा अस्पतालका वरिष्ठ प्याथोलोजिस्ट डा. सागरराज पाण्डेले मधुमेहको लक्षण, यसको रोकथाम र व्यवस्थापनबारे जानकारी दिए। उनले बदलिँदो जीवनशैली र अस्वस्थ खानपानका कारण नेपालमा मधुमेहका बिरामीको संख्या बढिरहेको बताए। ‘मधुमेह भनेको शरीरमा सुगरको मात्रा बढी हुने रोग हो जसलाई नेपाली समाजमा चिनी रोग भनिन्छ। चिनी शरीरलाई आवश्यक भए पनि यसको मात्रा बढी हुँदा स्वास्थ्यमा गम्भीर असर गर्न सक्छ,’ उनले भने।
न्यूरो हस्पिटलले विश्वस्तरीय ल्याबमार्फत सर्वसुलभ जाँच सेवा प्रदान गर्दै आएको छ र प्रत्येक शनिबार विभिन्न स्वास्थ्य जाँचमा ५० प्रतिशत छुट प्रदान गर्ने व्यवस्था राखेको छ। अस्पतालले विभिन्न स्वास्थ्य दिवसको अवसरमा निःशुल्क स्वास्थ्य सेवा र सचेतना कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गर्दै आइरहेको छ।