इटहरीमा तनावपूर्ण अवस्थाको बीच प्रहरीमाथि आक्रमण हुदा २२ जना प्रहरी घाईते

Logo
ग्रामीण सहकर्मी प्रकाशित सोमबार, मंसिर ०३, २०८१

विराटनगर/ सुनसरीको इटहरी–१२ स्थित रिलायन्स मिल अगाडि कोशी लोकमार्गमा बसको ठक्करबाट १३ वर्षीया सम्झना यादवको मृत्यु भएपछि उत्पन्न तनावमा २२ जना प्रहरी घाइते भएका छन्।

दुर्घटनामा परी इटहरी–१० निवासी श्यामनारायण यादवकी छोरी, जनता माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत सम्झनाको घटनास्थलमै मृत्यु भएको थियो।

दुर्घटनापछि आक्रोशित स्थानीयले बसलाई आगजनी गरी प्रहरीमाथि ढुंगामुढा गरेका थिए। तनावपूर्ण अवस्था नियन्त्रणमा लिने क्रममा नेपाल प्रहरीका २० र सशस्त्र प्रहरीका २ गरी २२ जना प्रहरी घाइते भएका छन्। घाइते प्रहरीहरूको अवस्था सामान्य रहेको जनाइएको छ।

आइतबार साँझ ४:३० बजे प्रदेश नं. १–०१–००१ ख ४५७४ नम्बरको यात्रुबाहक बसले साइकलयात्री सम्झनालाई ठक्कर दिएको थियो। दुर्घटना गराएर भागेको बसलाई स्थानीयले सुनसरी–मोरङ सिँचाई आयोजनाको पुलनजिक नियन्त्रणमा लिई आगजनी गरेका थिए।

बसमा आगो लगाइएपछि यात्रुहरू निस्किएर ज्यान जोगाएका थिए। आगलागीबाट बस पूर्णरूपमा जलेर नष्ट भएको छ।

स्थिति नियन्त्रण गर्न प्रहरीको टोलीले अश्रुग्यास, रबरका गोली र ५६ राउन्ड गोली हानेर भिडलाई तितरबितर बनाएको थियो। प्रहरीले ११ राउन्ड इन्सास राइफल, २५ राउन्ड ३०३ राइफल, २ राउन्ड एसएलआर र ७ काट्रिज सटगन प्रयोग गरेको जनाएको छ।

आन्दोलनका क्रममा सुनसरी प्रहरी प्रमुख सुमनकुमार तिम्सिना, डीएसपी रामप्रसाद तिमल्सिना र डीएसपी लक्ष्मी भण्डारीसहितका प्रहरी अधिकारीसमेत घाइते भएका छन्।

दुर्घटनामा संलग्न बसका चालक विराटनगर–१३ निवासी २७ वर्षीय अमित श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। दुर्घटनाबाट क्षतिग्रस्त बस खनार ट्राफिक पोष्टको नियन्त्रणमा राखिएको छ।

सम्झनाको शव कानुनी प्रक्रिया पूरा गरी साँझ ६:४४ बजे पोस्टमार्टमका लागि कोशी अस्पताल, विराटनगर पठाइएको प्रहरीले जनाएको छ।

सम्झनाको मृत्युले स्थानीयमा आक्रोश चुलिएपछि स्थिति तनावग्रस्त बनेको छ। प्रहरीले शान्ति सुरक्षा कायम गर्न स्थानीयसँग संवाद गर्ने प्रयास गरिरहेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]