

विराटनगर/ पूर्वाञ्चल विश्वविद्यालयको शिक्षाशास्त्र संकायले नेपालमै पहिलो पटक बालविकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ। “नेपालमा प्रारम्भिक बाल विकास इकोसिस्टम परिकल्पना” विषयक दुई दिने सम्मेलन आगामी मंसिर २१ र २२ गते विराटनगरमा हुनेछ।
विश्वविद्यालयका शिक्षाशास्त्र संकायका डिन प्रा. डा. अनिलकुमार पोखरेलका अनुसार सम्मेलनमा नेपालसहित अमेरिका, मलेसिया, भारत, बंगलादेशलगायत १५ भन्दा बढी देशका प्राज्ञ, नीति निर्माता, अनुसन्धानकर्ता तथा विद्यार्थीहरूको सहभागिता रहनेछ। सम्मेलनले बालविकासका क्षेत्रमा प्राज्ञिक बहस र विमर्श गराउने उद्देश्य राखेको छ।
सम्मेलनमा ४० भन्दा बढी सहभागीहरूले विभिन्न अनुसन्धान र अध्ययन प्रस्तुत गर्नेछन्। प्रस्तुतिका विषयहरूमा:
बालबालिका लक्षित नीति
विशेष आवश्यकता भएका बालबालिकाको हेरचाह
पेशागत विकास र नैतिकता
जलवायु परिवर्तनले बालबालिकामा पारेको प्रभाव
प्रारम्भिक बाल्यकाल विकासमा नवप्रवर्तन लगायतका विषय समावेश हुनेछन्। कीनोट र कार्यशालामा गुणस्तर सुधारमा छलफल सम्मेलनमा विभिन्न देशका विज्ञहरूले कीनोट स्पीच र कार्यशालामार्फत बालबालिकाको सर्वाङ्गिण विकासका अवसरहरू, गुणस्तर र पहुँच सुधारमा केन्द्रित बहस गर्नेछन्। यसले बालविकासका क्षेत्रमा नयाँ र समाजको आवश्यकता अनुसार स्नातक तथा स्नातकोत्तर कार्यक्रमहरू पहिचान गरी थप कार्यक्रम सञ्चालनमा सहयोग पुग्ने विश्वास विश्वविद्यालयले व्यक्त गरेको छ।
सम्मेलनको आयोजना गर्न विश्वविद्यालयले काठमाडौं महानगरपालिका, विराटनगर महानगरपालिका, नविल बैंक, प्लान इन्टरनेशनल, सेभ द चिल्ड्रेनलगायतका विभिन्न संघसंस्थाहरूको सहकार्य लिएको छ।
यो सम्मेलनले बालविकाससम्बन्धी नीतिगत निर्माण र प्राज्ञिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।