

विराटनगर / पुर्वेली संस्कार र संस्कृतिको गहिरो झल्को दिने लोक भाका गीत ‘तिमी मेरो पारुहाङ’ को भिडियो सार्वजनिक भएको छ। गायिका मेनुका राईको सुमधुर स्वरमा सजिएको यस गीतले माया र पिरतीका भावनाहरूलाई उजागर गर्दै मागी विवाह र भगाई विवाहका रमाइला प्रसंगलाई समेटेको छ।
गीतमा चन्द्र जयपाल राईका शब्द र बसन्त सापकोटाको संगीतले सांगीतिक सौन्दर्यता थपेको छ। भिडियोमा लोकप्रिय कलाकारहरू विल्सन विक्रम राई, एलिसा राई, र सोनाम तामाङले अभिनय र नृत्य प्रस्तुत गरेका छन्। छायांकन विक्रम डिसी, सम्पादन मनोज कार्की, र निर्देशन विल्सन विक्रम राईले गरेका हुन्।
गीतले पुर्वेली परम्परा र संस्कृतिलाई मौलिक दोहोरी शैलीमा प्रस्तुत गर्दै नेपाली लोक संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने प्रयास गरेको छ। भिडियोमा मागी विवाह र भगाई विवाहका पारिवारिक रमाइला क्षणहरूलाई सांगीतिक कथा मार्फत देखाइएको छ।
गायिका मेनुका राईले यो गीतले पुर्वेली लोक भाकाको मौलिकतालाई जगेर्ना गर्न ठूलो योगदान पुर्याउने विश्वास व्यक्त गरेकी छन्। गीतको भिडियो अहिले सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्महरूमा उपलब्ध छ, र दर्शक-श्रोताहरूबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ।