

विराटनगर / झापाको गौरादह नगरपालिका-३ स्थित मुख्यमन्त्री हिक्मत कुमार कार्कीको घर अगाडि शनिबार बिहान संकास्पद वस्तु फेला परेको छ। घटनास्थलमा तारले बाँधिएका दुईवटा बोतल भेटिएका थिए, जसमा “दुर्गा माता की जय” लेखिएको थियो। साथै, त्यहाँ कागजको चिर्केटो पनि फेला परेको छ।
झापाका प्रहरी प्रमुख एसपी मिलन केशीका अनुसार संकास्पद वस्तु बम हुन सक्ने आशंकामा नेपाली सेनाको बम डिस्पोजल टोलीलाई घटनास्थलमा बोलाइएको छ। हाल उक्त क्षेत्रलाई सुरक्षा सतर्कता अपनाउँदै घेराबन्दी गरिएको छ।
मुख्यमन्त्री कार्की बिहान मात्र गौरादहस्थित आफ्नो घर पुगेका थिए। उक्त घटनाको जानकारी पाउँदा उनी बाह्रदर्शी गाउँपालिकामा आयोजित कार्यक्रममा सहभागी भइरहेका थिए।
प्रहरी र सेनाले घटनास्थलको अनुसन्धान गरिरहेका छन्। यस घटनाले स्थानीयवासीमा त्रास फैलिएको छ भने थप विवरण आउन बाँकी छ।