विराटनगर किङ्सले एनपिएल क्रिकेटको शिल्ड उचाल्ने दाबी

Logo
ग्रामीण सहकर्मी प्रकाशित मंगलबार, मंसिर ११, २०८१

विराटनगर /  विराटनगर किङ्सले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताको उपाधि जित्ने दाबी गरेको छ। मंगलबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा टिमका सञ्चालक र प्रशिक्षकले टिमको तयारी, खेलाडी चयन र लक्ष्यबारे जानकारी दिएका थिए।

विराटनगर किङ्सका सञ्चालक तथा पूर्व अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी पारस लुनियाले टिममा पाँच विदेशी खेलाडी, आयरल्याण्डका मुख्य प्रशिक्षक केभिन ओ ब्रायन, मार्की खेलाडी सन्दिप लामिछाने तथा अन्य उत्कृष्ट खेलाडीहरू भएकोले उपाधि जित्नेमा विश्वस्त रहेको बताए। उनले टिमले एनपिएलको शिल्ड जितेर काठमाडौंबाट विराटनगर ल्याउने लक्ष्य लिएको बताए। लुनियाले आगामी १० वर्षभित्रमा राष्ट्रिय टोलीका लागि ४ जना खेलाडी उत्पादन गर्ने योजना पनि सुनाए।

टिमका अर्का सञ्चालक सुयश प्याकुरेलले प्रतियोगिता जित्ने उद्देश्यले कोच र खेलाडीहरूको छनोट गरिएको जानकारी दिए। उनले विराटनगरको निजी क्षेत्रले क्रिकेट उद्योगमा पनि अन्य उद्योगसरह लगानी गरेर खेलाडी उत्पादन गर्ने लक्ष्य लिएको बताए।

नेपाल प्रिमियर लिग (एनपिएल) प्रतियोगिता मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म ललितपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आयोजना हुनेछ। प्रतियोगितामा आठ टिमले सहभागिता जनाउँदै छन्। विराटनगर किङ्सले आफ्नो पहिलो खेल मधेश प्रदेशको जनकपुर बोल्टसँग खेल्नेछ।

विराटनगर किङ्सका टिममा सन्दिप लामिछाने, प्रतिस जिसी, वसिर अहमद, लोकेश बम, जितेन्द्र मुखिया, राजेश पुलामी, अनिल खरेल, दिपक बोहोरा, सुभाष भण्डारी, नरेश भट्ट र मुनाल गुरुङलगायत खेलाडी रहेका छन्। टिमका प्रशिक्षक केभिन ओ ब्रायन र टिम डाइरेक्टर दीपेन्द्र चौधरीले टिमको रणनीति र तयारीबारे जानकारी गराएका थिए।

प्रतियोगितामा हरेक टिमले कम्तीमा सात खेल खेल्न पाउनेछन्। विराटनगर किङ्सको तयारीले यसपटकको एनपिएल रोमाञ्चक हुने अपेक्षा गरिएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]