

विराटनगर / कोशी प्रदेश सरकारले सशस्त्र प्रहरी बल बराह बाहिनी मुख्यालय, इटहरीलाई विपद् नियन्त्रणका लागि विभिन्न सामग्री हस्तान्तरण गरेको छ। प्रदेश सरकारले उपलब्ध गराएका सामग्रीहरूमा आगो नियन्त्रण गर्ने उपकरणहरू रहेका छन्।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बुधबार एक समारोहबीच सशस्त्र प्रहरी बलका डिआइजी शम्भु सुवेदीलाई करिब १७ लाख रुपैयाँ बराबरको सामग्री हस्तान्तरण गरे।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव कमल थापाका अनुसार यी सामग्रीहरूले विपद् व्यवस्थापनमा महत्वपूर्ण सहयोग पुर्याउने विश्वास गरिएको छ।
सामग्री हस्तान्तरण कार्यक्रममा मुख्यमन्त्री कार्कीले विपद् व्यवस्थापनका लागि प्रविधिमा आधारित र तीनै तहका सरकारहरूबीच सहकार्य आवश्यक रहेको बताए। उनले विगतमा विपद् नियन्त्रणका कामहरू मौसमी र तदर्थ रुपमा मात्रै भएका कारण समस्या जटिल भएको उल्लेख गर्दै अब योजनाबद्ध र दीर्घकालीन दृष्टिकोणबाट कार्य गर्नुपर्नेमा जोड दिए।
मुख्यमन्त्री कार्कीले भने, “असारमा बाढी आउँदा त्यसकै तयारी गर्छौं, फागुन–चैतमा आगलागीको समय सुरु हुँदा त्यही बेला मात्र काम थाल्छौं। यो परिपाटी अन्त्य गर्न अब सबै तहका सरकारबीच समन्वय गरी प्रविधिमा आधारित विपद् नियन्त्रणको प्रणाली विकास गर्नुपर्छ।”
सशस्त्र प्रहरी बलका डिआइजी सुवेदीले प्रदेश सरकारद्वारा हस्तान्तरण गरिएका सामग्रीहरूले विपद् नियन्त्रणका कामलाई थप प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे।