रंगेली नगरपालिका-७ मा आयुर्वेदिक स्वास्थ्य केन्द्रले सेवा विस्तार गर्दै

Logo
ग्रामीण सहकर्मी प्रकाशित बिहिबार, मंसिर १३, २०८१

विराटनगर/ मोरङ्गको रंगेली नगरपालिका-७ स्थित वडा कार्यालयको भवनमा २०७७ सालदेखि स्थापना भएको “मेरो स्वास्थ्य, मेरो जिम्मेवारी” नाराका साथ सञ्चालनमा रहेको आयुर्वेदिक स्वास्थ्य केन्द्रले नागरिकहरूको शारीरिक, मानसिक, र आध्यात्मिक स्वास्थ्य सुधारमा निरन्तर योगदान दिँदै आइरहेको छ।

उक्त स्वास्थ्य केन्द्रले नागरिकलाई आयुर्वेद, योग तथा जडीबुटीको माध्यमबाट उपचार गर्दै राज्यले प्रदान गर्ने आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउँदै आएको छ। बिगतका वर्षहरूमा तुलनात्मक रूपमा बिरामीहरूको संख्या दिनप्रतिदिन बढिरहेको वैद्य महेश कुमार प्रमाणिकले जानकारी दिए।

ग्याष्टिक, घुँडादुखाइ, रुघाखोकीजस्ता रोगहरूको उपचार गर्दै आएको यस केन्द्रले हाल दैनिक ३ देखि ५ जनालाई थेरापी पद्धतिबाट उपचार गरिरहेको छ। बिरामीहरूको संख्या बढेसँगै सेवा र सुविधा थप विस्तार गर्नुपर्ने आवश्यकताबारे वैद्यले स्थानीय तह र सम्बन्धित निकायलाई अनुरोध गरेका छन्।

रंगेली-७ की सूर्य देवी मण्डलले आफ्नो वर्षौंदेखिको घुँडादुखाइको समस्या यहाँको उपचारले समाधान भएको बताइन्। यस्तै, बिगत ८ वर्षदेखि मधुमेहबाट ग्रसित उजित नारायण महतोले चार वर्षदेखि यहाँको औषधि सेवन गरेपछि आफ्नो स्वास्थ्यमा सुधार आएको उल्लेख गरे।

प्रदेश १ को स्वास्थ्य मन्त्रालय अन्तर्गत जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको सहयोगमा सञ्चालित यस स्वास्थ्य केन्द्रले गुणस्तरीय, सुलभ र समान पहुँचको स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ। नेपाल सरकारले अघि सारेको “स्वस्थ नागरिक, स्वच्छ समाज र स्वस्थ जीवन” अवधारणालाई कार्यान्वयनमा ल्याउन यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान पु¥याइरहेका छन्।

नगरपालिका र वडा कार्यालयले स्वास्थ्य केन्द्रलाई निरन्तर सहयोग गर्दै आए पनि थप लगानी र सुविधा विस्तारले उपचार सेवा अझ प्रभावकारी बन्ने विश्वास गरिएको छ। प्रदेश सरकार र स्वास्थ्य मन्त्रालयले यस्ता कार्यक्रमलाई प्रोत्साहन गर्न आवश्यक पहल गर्नु पर्ने सरोकारवालाहरूले सुझाव दिएका छन्।

स्वास्थ्य सेवामा सहज पहुँच र नागरिक सशक्तीकरणका लागि रंगेली-७ को आयुर्वेदिक स्वास्थ्य केन्द्र उदाहरणीय बनेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]