स्थानीय तह उपचुनावका लागि आज रातिदेखि मौन अवधि सुरु

Logo
ग्रामीण सहकर्मी प्रकाशित बिहिबार, मंसिर १३, २०८१

विराटनगर / आउँदो आइतवार हुने स्थानीय तहका विभिन्न पदहरूको उपचुनावको लागि आज बिहीवार राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ। मतदानको समयभन्दा ४८ घण्टाअघि मौन अवधि लागू हुने भएकाले शुक्रबारदेखि दल र उम्मेदवारहरूले कुनै पनि प्रकारको चुनावी प्रचारप्रसार गर्न पाउने छैनन्।

बिहीवार दिनभर नै उम्मेदवारहरूले आ-आफ्ना क्षेत्रहरूमा अन्तिम चरणको प्रचार अभियानलाई तीव्रता दिएका छन्।

विभिन्न कारणले रिक्त रहेका नगरपालिका र गाउँपालिकाका मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष, तथा वडा अध्यक्षका गरी ४१ पदमा हुने उपचुनावका लागि ३७६ जनाले उम्मेदवारी दिएका छन्।

निर्वाचन आयोगका अनुसार २० वटा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारसहित उम्मेदवारहरूको संख्या ३७६ पुगेको छ। उम्मेदवार र दलहरूका लागि यो उपचुनाव प्रतिष्ठाको विषय बनेको छ।

यस उपचुनावका नतिजाले आउँदो चुनावसम्मको राजनीतिक समीकरण र दलहरूको प्रभावमा ठूलो असर पार्न सक्ने विश्लेषण गरिएको छ। यही कारणले दल र उम्मेदवारहरूले यसलाई निकै महत्त्वका साथ लिएका छन्।

मौन अवधि लागू भएपछि मतदाताहरूले स्वतन्त्र रूपमा आफ्नो मताधिकार प्रयोग गर्न सहज वातावरण सिर्जना हुने अपेक्षा गरिएको छ। मतदान प्रक्रिया शान्तिपूर्ण र निष्पक्ष बनाउन निर्वाचन आयोगले विशेष तयारी गरिरहेको छ।

आइतवार हुने मतदानपछि छिटो नतिजा सार्वजनिक गर्न आयोगले आवश्यक व्यवस्थापन गरिसकेको जनाएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]