

विराटनगर / इटहरी उपमहानगरपालिका–१३, खनारमा बिहीबार साँझ भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्।
इलाका प्रहरी कार्यालय इटहरीका अनुसार प्रदेश १–०२–०५६ प ७५५६ नम्बरको मोटरसाइकल र मे ४ प ८९१ नम्बरको स्कुटर आपसमा ठोक्किँदा दुर्घटना भएको हो।
प्रहरी नायब उपरीक्षक (डीएसपी) लक्ष्मी भण्डारीले दिएको जानकारीअनुसार दुर्घटनामा स्कुटर चालक स्थानीय ५४ वर्षीय गोपाल रिजालको घटनास्थलमै मृत्यु भएको छ। प्रारम्भिक अनुसन्धानअनुसार मृतक गोपाल र स्कुटर पछाडि सवार अन्दाजी ३३ वर्षीया बबिता रिजाल ससुराबुहारी भएको खुल्न आएको छ।
दुर्घटनामा बबिता रिजाल घाइते भएकी छन् भने मोटरसाइकलमा सवार दुईजना पनि घाइते भएका छन्। घाइतेहरूको विराट अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।