

विराटनगर/ जाडोको मौसम सुरु भएसँगै बजारमा न्यानो कपडाको माग बढ्न थालेको भए पनि व्यापार भने सुस्त रहेको व्यापारीहरुले बताएका छन्। विभिन्न पसलमा ज्याकेट, टोपी, पञ्जा लगायतका जाडोमा आवश्यक कपडाहरु उपलब्ध भए पनि ग्राहकको चहलपहल न्यून रहेको छ।
नन्दनी रेडिमेड कपडा पसलका मालिक मनोज देवका अनुसार, जाडो महिनाको लागि कपडाहरु बजारमा आइसकेका छन्। तर बिहान र बेलुकी मात्रै जाडो महसुस हुने भएकाले बिक्रीमा गिरावट आएको छ। बैंकको चर्को ब्याजदर र व्यापारको अनिश्चितता हुँदा उनीहरूले सीमित मात्रामा मात्र कपडा आयात गरेको बताएका छन्। “ग्राहकको माग अनुसार क्रमशः थप्ने योजना छ,” देवले भने।
न्यु लाइफ स्टाइल कपडा पसलका मालिक महमद फैयाज आलमले पनि यस वर्ष जाडोको कमीका कारण व्यापारमा असर परेको बताएका छन्। “गुणस्तरीय सामान महँगो छ भन्ने ठानी ग्राहक सस्तोका लागि जोगबनी जाने गरेका छन्,” उनले भने।
श्री बाघेश्वरी एण्ड जेनेरल स्टोरकी मालिक प्रिती देवी पौदारले सस्तो मुल्यमा कपडा उपलब्ध गराए पनि व्यापार ठप्प रहेको गुनासो गरिन्। “बच्चाहरुका लागि न्यानो कपडाहरु पसलमा उपलब्ध छन् तर ग्राहक आउन छाडेका छन्,” उनले भनिन्।
ग्राहकहरुले पनि विभिन्न प्रतिक्रिया जनाएका छन्। सौरव मिश्रले नेपाल बजारमै गुणस्तरीय कपडा पाउने भएकाले यहीं खरिद गर्नु उपयुक्त ठानेको बताए। तर, राम शङ्कर यादवले भने “चित्त बुझ्दो ज्याकेट पाउन नसकेको” गुनासो गरे।
महोत्तरीका अजय कुमार रायले बजारमा नयाँ मोडलका कपडा अभाव रहेको बताए। “फेसन अनुसारको कपडा नेपालमै पाउने भए पनि पुरानै मोडलका कपडाहरु बजारमा देखिन्छन्,” उनले भने।
व्यापारीहरुको अनुसार, बजारमा चिनीया ज्याकेट र अन्य न्यानो कपडाको माग राम्रो भए पनि ग्राहकको ध्यान आकर्षित गर्न नयाँ मोडल र सस्तो मूल्य आवश्यक रहेको छ। यसरी व्यापारमा सुस्ती र चर्को बैंक ब्याजले व्यापारीलाई थप दबाब सिर्जना गरिरहेको छ।