

विराटनगर / कोशी प्रदेशका विभिन्न स्थानमा नक्कली सुन देखाई नगद तथा गरगहना ठगी गर्दै आएका छ जनाको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। समूहका सदस्यहरु अस्पताल, मेला, हटिया र भीडभाड भएका स्थानमा सुटबुटमा सजिएर अपरिचितलाई आफन्तको नाता लगाई ठगी गर्ने गरेका थिए।
पक्राउ परेकाहरूमा झापा, मोरङ, र भारतका व्यक्ति समावेश छन्। झापा तोपगाछी गाउँपालिका–१ का ५२ वर्षीय अशोक तामाङ, कन्काई नगरपालिका–९ का ५९ वर्षीय ढकलबहादुर थिङ्ग, अर्जुनधारा नगरपालिका–११ का ५४ वर्षीय प्रविन तामाङ, हल्दीबारी गाउँपालिका–३ का ६६ वर्षीय रामबहादुर कन्दङ्वा, भारतको नक्सालबाडीका ५१ वर्षीय नारायण गुरुङ र ३४ वर्षीय सञ्जय शर्मा छन्।
गत कार्तिक २७ गते समूहले संखुवासभा पाँचखपन गाउँपालिका–५ का ५६ वर्षीय कृष्णबहादुर तामाङको एक लाख १० हजार नगद विराट टिचिङ अस्पतालमा ठगी गरेका थिए। श्रीमतीको उपचारका लागि अस्पताल आएका तामाङसँग आफन्त भएको नाता लगाएर रकम ठगी गरी समूह फरार भएको थियो।
घटनाको उजुरीपछि मोरङ प्रहरीले प्रादेशिक अनुसन्धान समूह र सुनसरी प्रहरीसँग समन्वय गरी गिरोहलाई पक्राउ गरेको हो। सीसीटीभी फुटेजको विश्लेषण र प्राविधिक अनुसन्धानका आधारमा समूहलाई सुनसरीको इटहरीबाट नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार, समूहले नक्कली सुनका टुक्रा देखाएर सर्वसाधारणसँग नगद ठगी गर्ने, आफूलाई बुद्धबुद्धा देखाउँदै नजिक हुने, अनि नगद तथा गरगहना चोर्ने काम गर्थे। उनीहरू होटलमा बस्दा नाम र ठेगाना बारम्बार परिवर्तन गर्नेगर्थे।