

विराटनगर / मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप चार दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ। मंगलबार न्यायाधीश ईश्वरीप्रसाद भण्डारीको इजलासले उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको सूचना अधिकारी मेलिस बाँस्कोटाले जानकारी दिएका छन्।
प्रसाईंमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत साइबर अपराधसम्बन्धी अनुसन्धान भइरहेको छ। उनले कम्बोडियाको टेलिकममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले लगानी गरेको भनी अपुष्ट कागजात सार्वजनिक गरेका थिए। उक्त दाबीलाई लिएर साइबर ब्युरोले अनुसन्धान थालेको हो।
प्रहरीले मंसिर ४ गते प्रसाईंलाई भक्तपुरस्थित निवासबाटै पक्राउ गरेको थियो। उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धानका लागि थुनामा राखेको छ।
यसअघि सिआइबीमा भारतीय गुण्डाको नाम लिएर व्यापारीहरूलाई धम्की दिएको उजुरीसमेत परेका थिए। यसै प्रकरणमा प्रसाईंका सहयोगी हरिचन्द्र फुयाललाई पनि प्रहरीले पक्राउ गरेको थियो। फुयालले बयानका क्रममा प्रसाईंकै निर्देशनमा धम्की दिएको बताएका थिए।
प्रहरीले प्रसाईंमाथि आपराधिक लाभ लिन नहुने कसुरमा समेत अनुसन्धान अघि बढाउने तयारी गरिरहेको छ।