

विराटनगर / आर्थिक मन्दी र बेरोजगारीका बीच ५९ वर्षीया सुल्ली देवी राजवंशीले आत्मनिर्भरताको उत्कृष्ट उदाहरण प्रस्तुत गरेकी छिन्। रंगेली नगरपालिकाकी स्थायी बासिन्दा सुल्ली हाल विराटनगर–८ मा भाडामा आफ्नो परिवारसँग बस्छिन्। उनले विगत ६ वर्षदेखि आलुचप, पापड, प्याजीजस्ता परिकार बनाएर विक्री गर्दै स्थानीयस्तरमा राम्रो व्यावसायिक पहिचान बनाएकी छिन्।
सुल्लीको दिन सूर्योदयसँगै सुरु हुन्छ। उनी सामग्री तयार गर्दै ११ बजेदेखि पकाउन थाल्छिन्। उनका परिकारको स्वादले ग्राहकहरूलाई लोभ्याउँछ, जसका कारण व्यस्तता बढ्नासाथ उनका श्रीमान् र कान्छी छोरी सन्ध्या पनि व्यवसायमा सघाउँछन्।
सुल्लीका परिकारको विक्री मुख्यतः बेलुकी समयमा हुने गर्छ। स्कूलबाट फर्कने विद्यार्थी, कामबाट फर्कने कर्मचारी, सिटी सफारी चालक, र स्थानीय बासिन्दाहरू उनका ग्राहक हुन्। उनको व्यापारको केन्द्र भने उनको भाडामा बस्ने घरको गेटछेउमा रहेको सानो छाप्रो हो।
उनले दैनिक २,०००–३,००० रुपैयाँसम्मको व्यापार गर्ने बताउँछिन्। यसबाट उनले घरको भाडा तिर्ने, परिवारको दैनिक खर्च धान्ने, र छोरीहरूको आवश्यकतामा सहयोग पुर्याउन सफल भएकी छिन्। यसका साथै सुल्लको दुई छोरीहरुलाई पनि काममा जाने गर्दछन्। “चाहेमा जे पनि गर्न सकिन्छ,” भन्ने सुल्ली समाजका लागि प्रेरणाको स्रोत बनेकी छिन्।
देशमा बेरोजगारी र विदेश पलायनको चर्चा चलिरहेका बेला सुल्ली जस्ता महिलाहरू आफ्नै ठाउँमा बसेर श्रमद्वारा आत्मनिर्भरताको उदाहरण बनिरहेका छन्। उनका परिकारले न केवल स्थानीय स्वादको परिचय गराउँछ, तर उनको संघर्षले स्थानीय महिलाहरूलाई व्यवसाय गर्न हौसला पनि प्रदान गर्छ।
“हामीले काम गर्न लाज मान्न हुँदैन,” भनी सुल्ली भन्छिन्, “कठिन परिश्रमले मात्रै प्रगति सम्भव छ।” उनका शब्द र कर्मले समाजमा सकारात्मक ऊर्जा फैलाइरहेको छ।
सुल्लीको कथा केवल एक व्यक्तिको संघर्ष र सफलताको गाथा मात्र होइन, यसले स्थानीय उद्यमशीलताको शक्ति र महिलाको सशक्तीकरणलाई उजागर गर्दछ।