

विराटनगर/ सुनसरीको धरानमा प्रहरीले ६ सय किलो गाँजा बरामद गरेको छ। मङ्गलबार राति धरान उपमहानगरपालिका–१३ शिवधाराबाट उक्त गाँजा बरामद गरिएको हो।
गाँजा बरामद गर्ने क्रममा प्रहरीले चार राउण्ड गोलीसमेत प्रहार गरेको सुनसरीका प्रहरी उपरीक्षक सुमनकुमार तिमल्सिनाले जानकारी दिएका छन्। धनकुटाबाट धरानतर्फ आउँदै गरेका बा १ झ ५१२७ र बा १ झ ४६०५ नम्बर प्लेटका दुई सरकारी गाडीलाई नियन्त्रणमा लिएर जाँच गर्दा गाँजा भेटिएको हो।
प्रहरीका अनुसार गाडी जाँच गर्ने क्रममा चालकहरू भाग्न खोजेपछि गोली प्रहार गरिएको थियो। धनकुटाबाट गाँजा ल्याइँदै छ भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धरान र वडा प्रहरी कार्यालय भानुचोकबाट खटिएको टोलीले उक्त गाँजा बरामद गरेको हो।
घटनास्थलबाट मोरङको सुन्दरहरैचा–११ का ३६ वर्षीय श्यामकुमार विकलाई पक्राउ गरिएको छ। पक्राउ परेका विकमाथि इलाका प्रहरी कार्यालय धरानमा अनुसन्धान भइरहेको जनाइएको छ।
प्रहरीले बरामद गाँजाको परिमाण ठूलो भएको र यसमा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको जनाएको छ।