ग्रामथान गाउँपालिकामा निःशुल्क एम्बुलेन्स सेवा: अध्यक्ष माझीको पहिलो निर्णय

Logo
ग्रामीण सहकर्मी प्रकाशित बिहिबार, मंसिर २०, २०८१

विराटनगर/ मोरङको ग्रामथान गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष नमोनारायण माझीले पालिकाका सम्पूर्ण नागरिकलाई आकस्मिक स्वास्थ्य सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने पहिलो ऐतिहासिक निर्णय गरेका छन्।

आज गाउँपालिकाको प्राङ्गणमा आयोजित शपथग्रहण समारोहपछि पदभार ग्रहण गर्दै अध्यक्ष माझीले यो महत्त्वपूर्ण निर्णय गरेका हुन्। निर्णयअनुसार ग्रामथान गाउँपालिकाका नागरिकलाई आकस्मिक अवस्थामा विराटनगरका कुनै पनि स्वास्थ्य संस्थासम्म पुर्‍याउन तथा पालिकाभित्रका जुनसुकै स्थानमा दुर्घटना वा आकस्मिक स्वास्थ्य सेवाका लागि एम्बुलेन्स सेवा निःशुल्क उपलब्ध हुनेछ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामराज पौडेलले अध्यक्ष माझीको निर्णय बाचन गरी सुनाएका थिए। यसअघि, जिल्ला न्यायाधीश उद्धव भट्टराईले अध्यक्ष माझीलाई पद तथा गोपनीयताको शपथ गराएका थिए।

शपथग्रहणपछि अध्यक्ष माझीले जनताको सेवा नै आफ्नो प्रमुख दायित्व भएको उल्लेख गर्दै जनताको आकांक्षा पूरा गर्न आफू प्रतिवद्ध रहेको बताए। उनले जनताले कुनै गुनासो लिएर पालिकामा धर्ना दिनुपर्ने वा आन्दोलन गर्नुपर्ने अवस्था आउन नदिने र जनतासँगै मिलेर काम गर्ने प्रतिबद्धता जाहेर गरे।

कार्यक्रममा पूर्वमन्त्री तथा संघीय सांसद अमनलाल मोदी, कोशी प्रदेशका सांसद जयप्रकाश चौधरी, पूर्वमन्त्री विजय विश्वास, पूर्व प्रदेशसभा सांसद कुलप्रसाद साम्बालगायत अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।

नवनिर्वाचित अध्यक्षको पहिलो निर्णयले ग्रामथान गाउँपालिकाका जनतामा उत्साह र सकारात्मक सन्देश पुर्‍याएको छ। यस कदमलाई धेरैले प्रशंसा गर्दै पालिकाको स्वास्थ्य सेवा प्रणालीमा सुधार आउने विश्वास गरेका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]