विवाह पञ्चमी पर्व जनकपुरमा धुमधामसाथ मनाइँदै

Logo
ग्रामीण सहकर्मी प्रकाशित शुक्रबार, मंसिर २१, २०८१

विराटनगर/श्रीरामचन्द्र र जानकी सीताको विवाहको सम्झनामा मनाइने विवाह पञ्चमी पर्व आज मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा विशेष धुमधामका साथ मनाइँदैछ। त्रेतायुगमा मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सम्पन्न भएको राम–सीताको विवाहको सम्झनामा यस पर्वलाई हर्षोल्लासपूर्वक मनाइन्छ।

जनकपुरधाममा आज परम्परागत रूपमा मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार सम्पन्न हुँदैछ। रामायणका अनुसार, मिथिलाका राजा जनकले शिवधनुष तोड्न राखिएको स्वयंवरमा रामले धनुष भाँचेपछि सीतासँग विवाह गरेका थिए। सोही ऐतिहासिक घटना सम्झेर जनकपुरका राम र जानकी मन्दिरबाट भगवान् राम र सीताको प्रतिमा विशेष सुसज्जित डोला सिंहासनमा राखेर रङ्गभूमि मैदान पुर्याइएको छ।

रङ्गभूमिमा वर र वधुपक्षबीच परम्परागत रीति–रिवाजमा हाँसो–ठट्टा तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ। लाखौँ श्रद्धालु र सीमावर्ती भारतीय क्षेत्रबाट आएका भक्तजनको सहभागिताले जनकपुरमा उत्साहजनक माहोल सिर्जना भएको छ।

यस महोत्सवका क्रममा भजनकीर्तन, रामलीला, झाँकी र धार्मिक प्रवचनहरूको पनि आयोजना गरिएको छ। भक्तजनहरूले बिहानै सरोवर र नदीमा स्नान गरी पूजाअर्चना गरेका छन्। विवाह पञ्चमी पर्वमा सहभागी भएर मनोकामना पूरा हुने र मोक्ष प्राप्त हुने जनविश्वास रहेको छ।

देशभरका राम–सीता मन्दिरमा पनि विशेष पूजा र आराधना गर्दै यो पर्व मनाइँदैछ। यस पर्वमा विवाह गर्न साइत नचाहिने सामाजिक मान्यता रहेकोले आजकै दिन धेरैले विवाह गर्ने चलन पनि रहेको छ।

जनकपुरधाममा यस्तो महोत्सव दुई दशकदेखि विशेष कार्यक्रमसहित रङ्गभूमिमा मनाउने गरिएको हो। पाँच दिनसम्म चल्ने यस महोत्सवले मिथिलाको सांस्कृतिक र धार्मिक महत्वलाई विश्वभर चिनाउँदै आएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]