

विराटनगर/ पश्चिमी वायुसँगै आएको न्यून चापीय प्रणालीका कारण भोलि आइतबार र पर्सि सोमबार देशका विभिन्न स्थानमा वर्षा र हिमपात हुने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै हिउँदे मौसमी प्रणाली सक्रिय भएकाले देशभरको मौसममा परिवर्तन हुने चेतावनी दिएको छ।
महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। गण्डकी प्रदेशका थोरै स्थानमा र बाग्मती तथा कोशी प्रदेशका पहाडी क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा हुने अनुमान गरिएको छ।
त्यस्तै, सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका धेरै स्थानमा, साथै गण्डकी, बाग्मती र कोशी प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ।
वर्षा र हिमपातका कारण तापक्रममा गिरावट आउनसक्ने भएकाले चिसो बढ्ने अनुमान गरिएको छ। महाशाखाले दैनिक जनजीवन, स्वास्थ्य, पर्वतारोहण र हवाई यातायातमा प्रत्यक्ष असर पर्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन र पूर्वतयारी गर्न अनुरोध गरेको छ।
जनजीवनमा पर्ने सम्भावित प्रभावलाई ध्यानमा राख्दै, अत्यधिक चिसोबाट जोगिन न्यानो कपडा प्रयोग गर्न, स्वास्थ्यको ख्याल गर्न र यात्राका क्रममा सावधानी अपनाउन महाशाखाले विशेष आग्रह गरेको छ।