

विराटनगर/ प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले झापाको दमक नगरपालिका–३ मा निर्मित १८ तले भ्यू टावरको उद्घाटन गरेका छन्। यो भ्यू टावर ओलीकै निर्वाचन क्षेत्र र गृहनगर दमकमा निर्माण गरिएको हो।
प्रधानमन्त्री ओलीले आफ्नो दोस्रो कार्यकालमा २०७६ सालमा टावरको शिलान्यास गरेका थिए भने तेस्रो कार्यकालमा यो परियोजनाको उद्घाटन गरेका हुन्।
‘दमक बिजनेस कम्प्लेक्स’ नाम दिइएको यो संरचना निर्माणमा १ अर्ब ५६ करोड १४ लाख रुपैयाँ खर्च भएको छ। शहरी विकास मन्त्रालयको नेतृत्वमा सम्पन्न परियोजनालाई निजी कम्पनीहरूसँग सहकार्य गरी सञ्चालन गरिने योजना छ।
शहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलका अनुसार कम्प्लेक्स चार बिगाह १६ कट्ठा क्षेत्रफलमा फैलिएको छ। ९२६ वर्गमिटरको भुइँतलासहित १८ तले यस संरचनामा व्यापारिक, मनोरञ्जनात्मक, र कर्पोरेट भवनहरू निर्माण गरिएका छन्।
यो भ्यू टावर झापासहित कोशी प्रदेशकै एक ठूलो व्यापारिक केन्द्र (बिजनेस कम्प्लेक्स) बन्ने विश्वास गरिएको छ। आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्दै स्थानीय व्यापार प्रवर्द्धनमा यो कम्प्लेक्सले योगदान पुर्याउने अपेक्षा गरिएको छ।
कम्प्लेक्स परिसरमा बगैँचासहित ४० वटा चार पाङ्ग्रे र २०० वटा दुई पाङ्ग्रे सवारी पार्किङको सुविधा उपलब्ध हुनेछ। प्रवेश शुल्क तोक्ने र व्यवस्थापनका लागि निजी कम्पनीलाई लिजमा दिने योजना समेत रहेको सचिव सिग्देलले बताए।
कम्प्लेक्सको निर्माणका लागि कुल १ अर्ब ६३ करोड ५४ लाख रुपैयाँ लागत अनुमान गरिएको थियो। चिनियाँ कम्पनी जेडसिजिआइइसी, आशिष र ओम साइराम जेभीले ठेक्का पाएको यो परियोजना २०८० माघ २० गते सम्पन्न गर्नुपर्ने लक्ष्य राखिएको थियो।
दमक बिजनेस कम्प्लेक्सले प्रदेशस्तरीय व्यापारिक तथा पर्यटकीय केन्द्रको रूपमा योगदान दिने विश्वास गरिएको छ।