

विराटनगर/ कैलालीमा छुट्टाछुट्टै स्थानमा भएका मोटरसाइकल दुर्घटनामा तीनजनाको मृत्यु भएको छ।
मंगलबार टिकापुर नगरपालिका–८ फाँटास्थित हुलाकी सडकखण्डमा सत्तीबाट राजपुरतर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०१–००८प०८१३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुईजना घाइते भएका थिए।
मोटरसाइकल चालक टिकापुर नगरपालिका–१ का २१ वर्षीय रामकुमार चौधरी र पछाडि सवार २२ वर्षीय विनोद चौधरी गम्भीर घाइते भएका थिए। टाउकोमा गम्भीर चोट लागेका दुवैलाई उपचारका लागि टिकापुर अस्पताल लगिएको थियो। अस्पतालमा विनोद चौधरीलाई मृत घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए।
रामकुमार चौधरीलाई थप उपचारका लागि कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको छ।गोदावरी नगरपालिका–४ स्थित भिमदत्त राजमार्गमा मंगलबार राति म२प९११७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा कञ्चनपुरका एकजनाको मृत्यु भएको छ।
दुर्घटनामा शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरका ३० वर्षीय हिक्मत महराको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
मोटरसाइकल दुर्घटना खाली ट्रक देखेर चालकले एक्कासी ब्रेक लगाउन खोज्दा भएको बताइएको छ।प्रहरीका अनुसार दुवै घटनाको विस्तृत अनुसन्धान भइरहेको छ।