सन् २०३४ को फिफा विश्वकप साउदी अरेबियामा आयोजना हुने

Logo
ग्रामीण सहकर्मी प्रकाशित बिहिबार, मंसिर २७, २०८१

विराटनगर/ साउदी अरेबियाले सन् २०३४ को फिफा विश्वकप फुटबल आयोजना गर्ने अधिकार पाएको छ। ४८ टोलीको सहभागिता रहने यो विश्वकपका खेलहरू साउदी अरेबियाका पाँच प्रमुख शहर रियाद, जेद्दा, अल खोबर, आभा र निओमका १५ वटा रङ्गशालामा खेलाइने छन्।

रियादमा निर्माणाधीन ९२ हजार दर्शक क्षमताको किङ सलमान स्टेडियममा उद्घाटन र फाइनल खेल हुने तय गरिएको छ। यो स्टेडियम सम्पन्न भएपछि विश्वकै उत्कृष्ट स्टेडियममध्ये एक हुने विश्वास गरिएको छ।

यसअघि, सन् २०३० को फिफा विश्वकप स्पेन, पोर्चुगल र मोरक्कोले संयुक्त रूपमा आयोजना गर्ने निर्णय भइसकेको छ। प्रतियोगिताको १०० वर्ष पुगेको अवसरमा यसको ऐतिहासिक महत्त्वलाई सम्मान गर्दै प्रारम्भिक तीन खेल अर्जेन्टिना, पाराग्वे र उरुग्वेमा पनि हुनेछन्।

सन् २०३४ को विश्वकपलाई मध्यपूर्वमा आयोजित दोस्रो विश्वकपका रूपमा लिइएको छ। यसअघि सन् २०२२ मा कतारले सफलतापूर्वक विश्वकप आयोजना गरेको थियो।

साउदी अरेबियाले विश्वकप आयोजना गर्न अत्याधुनिक स्टेडियमहरू निर्माण र पूर्वाधार विकासमा ठूलो लगानी गरिरहेको छ। विश्वकपले साउदी अरेबियाको खेलकुद, पर्यटन र आर्थिक क्षेत्रलाई थप उचाइमा पु¥याउने अपेक्षा गरिएको छ।

विश्वभरका फुटबल समर्थकहरूले सन् २०३४ को यस ऐतिहासिक प्रतियोगितालाई रोमाञ्चक र सफल बनाउन योगदान गर्ने विश्वास व्यक्त गरिएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]