

झापा/ माओवादी पूर्व केन्द्रीय कमाण्डको नाममा गिरीबन्धु टी इस्टेटको चिया फ्याक्ट्री अगाडि कुकर बम राखेर आतंक फैलाउने थप दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा गोरखा पालुङटार नगरपालिका–७ निवासी हाल तनहुँ ब्यास नगरपालिका–१४ बस्ने ३६ वर्षीय अमृत सापकोटा (उपनाम गौरव) र खोटाङ खोटेहाङ गाउँपालिका–७ कातिके टोलका ३५ वर्षीय दिलिप भट्टराई (उपनाम समर्पण) रहेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साको सहयोगमा उनीहरूलाई मंसिर २५ गते पक्राउ गरिएको थियो। झापा जिल्ला अदालतबाट ९ दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय बिर्तामोडले अनुसन्धान जारी राखेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए।
यसअघि, मंसिरको दोस्रो साता यसै घटनामा संलग्न रहेका मोरङ मिक्लाजुङ गाउँपालिका–९ मधुमल्लाका ३६ वर्षीय राजकुमार माझी र कानेपोखरी गाउँपालिका–६ शिवालय टोलका २० वर्षीय धिरज माझी पक्राउ परेका थिए।
गत भदौ २८ गते बिहान ६:१० बजे बिर्तामोड नगरपालिका–६ स्थित गिरीबन्धु टी इस्टेटको पश्चिम पर्खाल नजिक कुकर बम राखिएको थियो। बमसँगै “नेकपा (माओवादी) पूर्व केन्द्रीय कमाण्ड गिरीबन्धु टी इस्टेटको जग्गा कब्जा किन?” भन्ने पर्चा फेला परेको थियो।
प्रहरीले घटनामा संलग्न फरार व्यक्तिहरूको खोजी र अनुसन्धानमा निरन्तर प्रयास जारी राखेको डीएसपी चन्दले बताए। पक्राउ परेकाहरूविरुद्ध विष्फोटक पदार्थसम्बन्धी कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको छ।
घटनाको उद्देश्यमाथि थप अनुसन्धान जारी रहे पनि यसले स्थानिय क्षेत्रमा आतंक र तनाव सिर्जना गरेको छ। सुरक्षा निकायले यसप्रकारका गतिविधिहरूमा संलग्न व्यक्तिहरूलाई कारबाहीका लागि कठोर कदम चाल्ने प्रतिबद्धता जनाएको छ।