रवि लामिछानेविरुद्धको अनुसन्धान प्रतिवेदन सोमबार सरकारी वकिल कार्यालयमा पेस हुने

Logo
ग्रामीण सहकर्मी प्रकाशित आइतबार, मंसिर ३०, २०८१

विराटनगर/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको अनुसन्धान प्रतिवेदन सोमबार सरकारी वकिल कार्यालयमा पेस गरिने भएको छ। कात्तिक २ गतेदेखि कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेमाथि सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।

कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाका अनुसार लामिछानेसहितका व्यक्तिहरूविरुद्ध प्रहरीको टोलीले आवश्यक प्रमाण संकलन गरी रायसहितको प्रतिवेदन तयार पारेको छ। सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाइएपछि मुद्दा दर्ता प्रक्रिया अघि बढ्नेछ।

संसदीय विशेष छानबिन समितिले सूर्यदर्शन सहकारीलगायत सहकारीका ठूला रकम गोरखा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरिएको निष्कर्ष निकालेको थियो। उक्त अपचलनमा लामिछानेसँगै पूर्वडीआईजी छविलाल जोशी, लिला पछाई, रामबहादुर खनाल र कृष्ण गुरुङ पनि मुछिएका छन्।

जोशी असोज ६ गते पक्राउ परेका थिए। सम्पत्ति शुद्धीकरण कसुरमा ९० दिनभित्र मुद्दा दर्ता गर्नुपर्ने कानूनी बाध्यता अनुसार पुस ५ भित्र अभियोगपत्र दायर गर्नुपर्नेछ। यो म्यादभित्र अन्य चार जना अभियुक्तहरूको म्याद पनि मिलान गरिएको छ।

संसदीय विशेष छानबिन समितिका अनुसार सूर्यदर्शन, स्वर्णलक्ष्मी, सहारा, र सानोपाइला सहकारीका गरी ६५ करोड ५४ लाख रुपैयाँ गोरखा मिडिया नेटवर्कमा लगेर अपचलन गरिएको देखिएको छ। सूर्यदर्शन सहकारीबाट मात्र ५ करोड ५८ लाख रकम गोरखा मिडियामा स्थानान्तरण गरिएको पुष्टि भएको छ।

सरकारले लामिछाने र अन्य अभियुक्तहरूमाथि ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपमा आवश्यक कारबाही अघि बढाउने तयारी गरेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]