

विराटनगर / सुनसरी सदरमुकाम इनरुवा–४ मा शनिबार अपराह्न करिब ३ बजे आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। बोवा लाल मेहताको टिनको घरमा लागेको आगोले घरभित्रका सम्पूर्ण सामग्रीसमेत नष्ट गरेको छ।
अग्नि पीडित मेहताका अनुसार धान दाउनी गर्ने क्रममा आगलागी भएको हो। आगो तीव्र रूपमा फैलिँदै जाँदा घरमा रहेका २ वटा साइकल, १० बोरा रासायनिक मल, खाद्यान्न, लत्ताकपडा, र टिन–काठको घर पूर्ण रूपमा नष्ट भएको छ। आगलागीबाट करिब ५ लाख रुपैयाँ बराबरको क्षति भएको उनले बताए।
इनरुवा नगरपालिकाको बारुणयन्त्र, नेपाल प्रहरी, नगर प्रहरी र स्थानीयवासीहरूको सक्रियतामा आगो नियन्त्रणमा लिइएको थियो। यद्यपि, आगलागीका कारण पीडित परिवार घरबारविहीन भएका छन्।
भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजादले आगलागीप्रति दुःख व्यक्त गर्दै पीडित परिवारलाई तत्काल राहत र पुनःस्थापनाका लागि पहल गरिने आश्वासन दिएका छन्। उनले भने, “यस्ता विपद्का बेला पीडितहरूको उद्धार र राहत हाम्रो प्राथमिकता हो। सम्बन्धित निकायहरूसँग समन्वय गरेर पीडितलाई आवश्यक सहयोग पुर्याउने प्रयास गर्नेछौं।”
पीडित परिवारले पुनःस्थापनाका लागि सरकार, स्थानीय निकाय र दयालु मनहरूबाट सहयोगको अपिल गरेका छन्।