विराटनगरमा दुईदिने महानगर रोजगार मेला सुरु

Logo
ग्रामीण सहकर्मी प्रकाशित सोमबार, पुष ०१, २०८१

विराटनगर /  वैदेशिक रोजगारीको विकल्प प्रदान गर्दै स्थानीयस्तरमै युवाहरूलाई रोजगार उपलब्ध गराउने उद्देश्यले विराटनगर महानगरपालिकाले दुईदिने महानगर रोजगार मेला सुरु गरेको छ। सोमबार सुरु भएको यो मेला मंगलबार समापन हुनेछ।

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाका अनुसार मेलाको माध्यमबाट ३०० भन्दा बढी बेरोजगार युवा-युवतीलाई रोजगार उपलब्ध गराउने लक्ष्य राखिएको छ। यसअघि २०८० सालमा पहिलोपटक आयोजना गरिएको रोजगार मेलाबाट १९७ जना युवाले रोजगारी पाएको मेयर कोइरालाले जानकारी दिए।

उपमेयर शिल्पा निराला कार्कीले रोजगार खोजिरहेका युवा-युवती र रोजगारदाता निकायलाई एउटै थलोमा ल्याएर महानगरले रोजगारीका लागि पुलको काम गरिरहेको बताइन्।

उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले नेपालमा दक्ष प्राविधिकको अभावमा भारतबाट जनशक्ति ल्याउनुपरेको उल्लेख गर्दै यस्ता रोजगार मेलाहरूले दक्ष जनशक्ति उत्पादनमा योगदान गर्ने बताए।

विराट व्यापार संघका उपाध्यक्ष शरद श्रेष्ठले बेरोजगार युवालाई रोजगारी दिलाउन संघ सक्रिय रहेको जानकारी दिए। नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङका अध्यक्ष चेतन निरौलाले घरेलु तथा साना उद्योगमार्फत युवालाई रोजगार दिने कार्यलाई अघि बढाइएको बताए।

विराटनगर वडा नं. ७ स्थित विरेन्द्र सभा गृहको दक्षिणतर्फ रहेको इको पार्कमा आयोजित मेलामा ३० भन्दा बढी स्टल रहेका छन्। यी स्टलहरूले बेरोजगार युवाहरूलाई आवश्यक जानकारी प्रदान गर्नुका साथै रोजगारका लागि फारम भर्ने कार्य गरिरहेका छन्।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, वडा अध्यक्षहरू, र महानगरका अन्य कर्मचारीहरूको उपस्थितिमा मेलाको उद्घाटन गरिएको थियो।

यस रोजगार मेलाले युवाहरूलाई आत्मनिर्भर बनाउन र वैदेशिक रोजगारीको मोहलाई घटाउन महत्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]