

विराटनगर/ झापा र मोरङमा प्रहरीले छुट्टाछुट्टै स्थानबाट तीनजनालाई लागूऔषधसहित पक्राउ गरेको छ।
हिजो दिउँसो करिब ४ः३० बजे मेचीनगर–६ पुरानो मेची पुलमा २ ग्राम ३९० मिलिग्राम ब्राउनसुगरसहित बुद्धशान्ति गाउँपालिका–२ का २१ वर्षीय प्रजित तामाङ पक्राउ परेका छन्। शंका लागेर चेकजाँच गर्दा उनले मुखमा लुकाएर ल्याएको अवस्थामा लागूऔषध फेला परेको हो। उनलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको छ।
त्यस्तै, मोरङको रंगेली नगरपालिका–७ शुक्रबारेस्थित इसान्त फार्मेसीका सञ्चालक ३१ वर्षीय संजयकुमार मण्डललाई ठूलो परिमाणको लागूऔषधसहित पक्राउ गरिएको छ। हिजो दिउँसो ३ः१० बजे इलाका प्रहरी कार्यालय रंगेली र लागूऔषध नियन्त्रण ब्युरो विराटनगरको संयुक्त टोलीले फार्मेसीमा छापा मारेको थियो। छापामा ट्रामाडोल ५,३०० क्याप्सुल, स्पास्पेन २,००० ट्याब्लेट र डाइसे १३,६०० ट्याब्लेट बरामद गरिएको थियो। मण्डललाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रंगेलीमा राखिएको छ।
हिजो दिउँसो ४ः२० बजे रंगेली नगरपालिका–५ आँमगाछीबाट झुंगिटोलतर्फ गइरहेको को ७ प ६६४६ नम्बरको मोटरसाइकललाई प्रहरीले चेकजाँच गरेको थियो। रंगेलीका २७ वर्षीय धिरजकुमार झाको साथबाट ११ ग्राम १४० मिलिग्राम ब्राउनसुगर फेला परेको छ। उनलाई मोटरसाइकलसहित इलाका प्रहरी कार्यालय रंगेलीमा राखिएको छ।
प्रहरीले पक्राउ परेका तीनजनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ।