रात्रीकालीन व्यवसाय व्यवस्थित र मर्यादित बनाउन महानगर अग्रसर 

Logo
ग्रामीण सहकर्मी प्रकाशित बिहिबार, पुष ०४, २०८१

विराटनगर /  विराटनगर महानगरपालिकाले विराटनगरमा सञ्चालित गीतगजल तथा दोहोरीसाँझलाई व्यवस्थित गर्ने विषयमा सम्बन्धित व्यवसायीहरूसित छलफल गरेको छ ।

दोहोरीसाँझ र गीतगजल व्यवसायका कारण ध्वनि प्रदूषण र होहल्ला भएको भन्दै गुनासो आएपछि महानगरले व्यवसायीहरूलाई बोलाएर व्यवस्थित गर्न निर्देशन दिएको छ । महानगरका मेयर नागेश कोइरालाले तीन दिनभित्र ध्वनि प्रदूषण कम गर्न निर्देशन दिनुभयो । उहाँले ध्वनि प्रदूषण र होहल्लाले राति सुत्न, विद्यार्थीलाई अध्ययन गर्नसमेत बाधा पुगेको भन्दै महानगरका विभिन्न स्थानबाट भिडियोसहितको गुनासो आएको जानकारी दिनुभयो । विराटनगरमा सञ्चालित आधाभन्दा बढीले अझै पनि ध्वनि प्रदूषण कम गर्ने विधि नपनाएको पाइएको छ । उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, शैक्षिक प्रशासन महाशाखा प्रमुख रामप्रसाद ढुंगेल, राजस्व महाशाखा प्रमुख सरोज गौतम, सरसफाई शाखा प्रमुख पुनम दाहाललगायतको उपस्थितिमा भएको भेलाले महानगर प्रहरीका निरीक्षक राजन पौडेलको संयोजकत्वमा गीतगजल र दोहोरीसाँझलाई व्यवस्थित बनाउन समितिसमेत गठन गरेको छ ।

समितिमा होटल तथा पेयपदार्थ संघअन्तर्गतको रात्रीकालीन होटल व्यवसाय समन्वय समितिका अध्यक्ष सुरज श्रेष्ठ, महानगरको राजस्व महाशाखाका वासुदेव भण्डारी, नासाकु गीतगजलकी सञ्चालिका वविता चौधरी र श्रीराम गीतगजलका सञ्चालक नारायण तिम्सिना सदस्य छन् । समितिले ध्वनि प्रदूषण र पार्किङको अवस्था, राजस्व तिरे नतिरेको, सरसफाई कार्ड बनाए नबनाएको लगायतका विषयमा अनगुमन गर्नेछ ।

मेयर कोइरालाकै पहलमा बसेको प्रमुख जिल्ला अधिकारी, मोरङका प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धानका प्रमुखलगायत सरोकारवालाको बैठकले राति १२ बजेसम्म होटल व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको थियो । व्यवसायीकै आग्रहअनुसार रात्रीकालीन व्यवसाय सञ्चालन गर्न दिने निर्णय भए व्यवसायीहरूले निर्णय कार्यान्वयन नगरेको मेयर कोइरालाको भनाइ थियो । सोही निर्णयपछि राति ९ बजेसम्म सञ्चालन हुँदै आएका होटल व्यवसाय, गीतगजल रेष्टुरेन्ट, दोहोरीसाँझ हाल १२ बजेसम्म सञ्चालन हुँदै आएका छन् ।

रात्रीकालीन व्यवसाय सञ्चालन गर्दा ध्वनि प्रदूषण, होहल्ला र अमर्यादित गतिविधि हुन नदिनेलगायतमा व्यवसायीहरूले नै सहमति जनाएका थिए । मेयर कोइरालाले व्यवसायीहरूले विवगतमा गरेको सहमति एक वर्ष बितिसक्दा पनि कार्यान्वयन नहुनु दुःखद भएको प्रतिक्रिया दिनुभयो । ‘अब पनि सहमति कार्यान्वयन नभए पूर्वतः अवस्थाकै राति ९ बजेसम्म मात्रै सञ्चालन हुनेगरी अर्को निर्णय हुनसक्छ,’ मेयर कोइरालाले भन्नुभयो, ‘कम्तिमा व्यवसाय गर्दा अरुलाई बाधा त पुग्नु भएन नि ।’

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]