विराटनगरमा ३ दिने अग्रभागवत कथा वाचन हुने

Logo
ग्रामीण सहकर्मी प्रकाशित सोमबार, पुष ०८, २०८१

विराटनगर/ नेपाल अग्रवाल महिला मञ्च विराटनगरको आयोजनामा आगामी पुस ११, १२ र १३ गते विराटनगरको सिटी प्यालेस होटेल एण्ड रिसोर्टमा ३ दिने अग्रभागवत कथा वाचन कार्यक्रम हुने भएको छ।

भारतको मुम्बईका प्रख्यात कथा वाचक उज्जवल जी गर्गले अग्रवाल जातिको उत्पत्तिबारे कथा वाचन गर्नेछन्। त्रेतायुगमा श्रीरामको ३५औं पुस्ताबाट प्रारम्भ भई द्वापर युगको अन्त्यसम्मको कालखण्डमा अग्रवाल जातिको उत्पत्ति र इतिहासको व्याख्या गरिनेछ। कथा वाचन प्रत्येक दिन दिउँसो २ बजेबाट ५ बजेसम्म हुनेछ।

पत्रकार सम्मेलनमा नेपाल अग्रवाल महिला मञ्च विराटनगरकी अध्यक्ष उमा चौधरीले युवापुस्तालाई अग्रवाल जातिको इतिहास र उत्पत्तिबारे जानकारी गराउने उद्देश्यले कथा वाचन आयोजना गरिएको बताइन्। नेपाल अग्रवाल सभा विराटनगरका अध्यक्ष राजकुमार अग्रवालले विराटनगरमा ५ हजारभन्दा बढी अग्रवाल समुदायका मानिस बसोबास गरिरहेको जानकारी गराउँदै अन्य मारवाडी समुदायका व्यक्तिहरू पनि कार्यक्रममा सहभागी हुने बताए।

नेपाल अग्रवाल युवा मञ्च विराटनगरका अध्यक्ष चेतन अग्रवालले यो कार्यक्रमले जातीय पहिचानलाई प्रोत्साहन गर्ने विश्वास व्यक्त गरे।

नेपाल अग्रवाल महिला मञ्चको नेतृत्वमा आयोजना हुने यस कार्यक्रममा नेपाल अग्रवाल सभा विराटनगर, नेपाल अग्रवाल युवा मञ्च विराटनगर, र नेपाल अग्रवाल कन्या मञ्च विराटनगरले सहकार्य गरेका छन्।

नेपालमा पहिलो पटक अग्रवाल जातिको उत्पत्तिबारे कथा वाचन हुन लागेको यो कार्यक्रमले अग्रवाल समुदायमा ठूलो उत्साह ल्याएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]