वैज्ञानिकले सन्तुलित वातावरण बनाउन अग्रसर हुनुपर्छ: प्रदेश प्रमुख खापुङ

Logo
ग्रामीण सहकर्मी प्रकाशित आइतबार, पुष १४, २०८१

विराटनगर/ कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले वैज्ञानिकहरुले नै स्वच्छ र सन्तुलित वातावरण निर्माणमा अग्रसर हुनुपर्ने बताउनुभएको छ। नेपाल जोलोजिकल सोसाइटी (नेजोस) कोशी प्रदेशद्वारा शनिबार विराटनगरमा आयोजित एकदिने प्राणी विज्ञानसम्बन्धी सेमिनारको उद्घाटन गर्दै उहाँले वैज्ञानिकहरुको जिम्मेवारी मानव जीवनलाई सुखी र खुशी बनाउनका साथै वर्तमान वातावरणीय समस्या समाधान गर्नुमा केन्द्रीत हुनुपर्ने धारणा राख्नुभयो।

उहाँले भन्नुभयो, “वैज्ञानिकहरु निस्वार्थी, लगनशील र मानवजगतको शुभचिन्तक हुन्छन्। उनीहरुको स्वार्थ नै मानव जीवनलाई सुखी बनाउनु हो।” भूउष्णीकरण, जलवायु परिवर्तन, र असन्तुलित वातावरणलाई सन्तुलित बनाउने जिम्मेवारी पनि वैज्ञानिकहरुकै काँधमा रहेको उहाँले जोड दिनुभयो।

प्रदेश प्रमुख खापुङले प्रयोगात्मक प्रयोजनका लागि राखिएको माछालाई चारो खुवाएर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो। यो उद्घाटन शैलीले जीव वैज्ञानिकहरुले जैविक विविधतालाई माया गर्ने र संकटमा परेका जनावरहरुको उद्धारमा प्रतिवद्धता जनाउने संकेत दिएको उहाँले बताउनुभयो।

सेमिनारमा कोशी प्रदेशमा विद्यावारिधि गरिरहेका प्राणीशास्त्रीहरुले आफ्ना अनुसन्धान प्रतिवेदनहरु प्रस्तुत गरे। नेजोसका अध्यक्ष प्राडा महेन्द्र महर्जनले देशभरि सोसाइटीले गरेका गतिविधिहरुबारे जानकारी गराउँदै प्राणी विज्ञानमा गरिने अनुसन्धानले देशको समृद्धिमा टेवा पुर्‍याउने बताउनुभयो। नेजोस कोशीका अध्यक्ष शालीग्राम अधिकारीले वैज्ञानिक अनुसन्धान मानव हित र समाजको समृद्धिका लागि हुने बताउनुभयो।

यस वर्षको “सोमप्रसाद निरौला प्राणी विज्ञान पुरस्कार” बाट प्राडा कालुराम खम्बू राई सम्मानित हुनुभएको छ। उहाँलाई कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ, नेजोसका केन्द्रीय अध्यक्ष प्राडा महेन्द्र महर्जन र पुरस्कारका संस्थापक सोमप्रसाद निरौलाले सम्मान गर्नुभएको हो। पुरस्कारको राशी २० हजार रुपैयाँ रहेको छ।

प्राडा राईले सरिसृप र उभयचरका क्षेत्रमा २००२ मा विद्यावारिधि गर्नुभएको थियो। उहाँले झापाको सालबारी सिमसार क्षेत्रमा कछुवा उद्धार तथा प्रजनन् केन्द्र सञ्चालन गर्नुका साथै विभिन्न जनावरहरुको अध्ययन तथा संरक्षणमा योगदान पु¥याउनुभएको छ।

कार्यक्रममा प्राडा राईको व्यक्तित्व र योगदानका विषयमा चर्चा गरिएको थियो।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]