

ग्रामथान / निप्स (Nepal Insurance Professional Society) कोशीको आज शनिबार प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ। २०८०।११।४ गते जिल्ला प्रशासन कार्यालय मोरङमा दर्ता उक्त संस्था २०८०।११।९ गते आन्तरिक राजस्व कार्यालयमा दर्ता भएको थियो भने २०८१।३। १७ गते आन्तरिक राजस्व कार्यालयबाट आयकर छुटको प्रमाणपत्र पनि प्राप्त गरेका थिए।
संस्थामा स्थापना कालदेखि अहिलेसम्म १२ जना आजीवन सदस्य रहेका छन् भने १८९ जना साधारण सदस्यको रुपमा रहेका छन्। संस्थाको खाता नबिल बैंक विराटनगर शाखामा २०८०। ११। २२ गते खोलिएको थियो।
सुन्दर हरैचाको हसिना पार्कमा भएको प्रथम वार्षिक साधारण सभासँगै वनभोज कार्यक्रम पनि राखिएको थियो। नेपाल बीमा प्राधिकरणका कोशी प्रदेश प्रमुख विनोद कुमार पोखरेल प्रमुख अतिथि रहेको कार्यक्रममा निप्सका अध्यक्ष खड्ग नारायण श्रेष्ठले वित्तीय विवरणसहितको संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा निप्सका सदस्य धना भट्टराई, कोषाध्यक्ष नारायण गौतम, उपाध्यक्ष प्रदिप बाबु तिवारीले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन संस्थाका सचिव प्रकाशकुमार पोखरेलले गरेका थिए।