थारु समुदायले मनाउने अखडिया पूजा

Logo
राजेश कुमार सरदार थारु / मोरङ प्रकाशित शनिबार, आषाढ १४, २०८२

प्रत्येक नयाँ बर्षको प्रारम्भमा नै यो शीरुवा पर्व संगै बैशाख १ गते ग्रामथानको पूजापाठ गर्ने दिन प्रारम्भ हुन्छ भने दोस्रो पूजा ग्रामथान देवी देवताहरुको असार महिनामा हुन्छ । असार महिना देखि धान रोप्ने कार्य प्रारम्भ हुन्छ । धान रोप्ने कार्य प्रारम्भ गर्ने बिशेष रुपमा ग्रामथानका देवी देवताको पूजापाठ गरिन्छ । थारु समुदायले धान रोप्ने कार्यको शुरुवात गर्दा पूजापाठ गरेर शुरु गर्दछन् । यस कार्यमा उनीहरुको कुनै निश्चित दिन, गते तोकेका हुदैनन् । उनीहरु आफ्नो अनुकूलताको आधारमा पूजापाठ गर्दछन् ।बिशेष गरि असार १ गते देखि असार १५ गते भित्र ग्रामथान देवी देवताको नाममा पूजापाठ गरि धान रोप्ने कार्य प्रारम्भ गर्दछन् जसलाई उनीहरु अखडिया पूजा भन्दछन् । थारु भाषमा असार लाई अखाड भन्ने गर्दछन् । अखडिया पूजा असार महनिामा नै गरिने भएकोले अखडिया भनिएको हो ।

यस अखडिया पूजामा धान रोप्ने कार्य शुरु हुन्छ जसलाई थारुहरु गवलेवे भन्दछन् । थारु भाषामा गव भनेको धानको बिउको सानो मmुपोलाई भन्दछन भने लेवेको अर्थ लिनु हो अर्थात धानको बिउको सानो झुप्पो लिएर हिलामय खेतमा धानको बाला रोप्ने कार्यको शुरुवात नै गवलेवे हो । खेतको इसान कोणमा पहिलो गव रोपेर पुजा गरे पछि दहि चिउरा प्रसाद खाने चलन छ ।

उनीहरु ग्रामथानको विधिपूर्वक पूजापाठ गरेर धान रोप्ने कार्य प्रारम्भ गर्दा धानबाली राम्रो फल्ने विश्वास गर्दछन् साथै गाईवस्तु र धानबालीमा कुनै पनि किसिमको रोग, व्याधी नलागोस तथा खडेरी, अति वृष्टि, अनावृष्टिबाट धानमा क्षति नपुगोस र विगत झैं कृषि कार्य राम्रो होस् भनेर पूजा पाठ गरि कामना गर्ने गरिन्छ ।

उनीहरु ग्रामथानको नाममा अखडिया पूजापाठ नगरिएसम्म धान रोप्ने कार्य प्रारम्भ नै गर्दैनन् । पूजापाठ शुरु भएसंगै किसानहरु पनि आफ्ना धान रोप्ने कार्य प्रारम्भ गर्नुपर्दछ भन्ने मनस्थिति बनाएर बसेका हुन्छन् । तसर्थ उनीहरु ग्रामथान देवी देवताको नाममा गरिने असार महिनामा गरिने अखडिया पूजालाई एउटा उत्सवको रुपमा लिन्छन् ।

थारु समुदायमा अखडिया पूजा गर्नु भन्दा १ दिन अगाडि, राती जाग्राम बस्दछन् । उनीहरु जाग्राममा बस्नु लाई जगरना भन्ने गर्दछन् । त्यस दिन थानमा पूजा गर्ने पुजारी, धामी लगायत अन्य भक्तजनहरुको उपस्थिति हुन्छ । ग्रामथानमा पुजा गरिने मुख्य धामी, धमियेन र देवताहरुको भजन, किर्तन, स्तुति, गायनले धामी, देवी देवतालाई आहवान गरेर आमन्त्रण गरि स्थापना गरि पुजा प्रारम्भ हुन्छ ।

ग्रामथान देवी देवताको नाममा भजन, किर्तन, स्तुति, गायन कार्यको प्रारम्भ हुन्छ ।
खेतीपाती कार्यको शुरुवाती गर्दा कुलो, पैनी, व्यवस्थापन, हलो जोत्ने दिशा निर्देशन, पानीको व्यवस्थापन आदिको बारेमा पनि छलफल प्रारम्भ हुन्छ । जाग्रामको भोली पल्ट ग्रामथानमा गएर विभिन्न देवीदेवताहरुलाई पूजापाठ गरिन्छ । ग्रामथान पूजामा अति महत्वपूर्ण सामग्रीहरुको प्रयोग गरिन्छ । हरेक ग्रामथान पूजामा पुजारी तथा धामीद्वारा शुरुवात तथा सम्पन्न गरिन्छ । यी विभिन्न थानहरुमा विभिन्न देवीदेवतालाई सम्झेर पूजा गरिन्छ ।

नयाँ बर्षको बैशाख महिनामा पर्ने शीरुवा मेलामा गरिने ग्रामथानको पूजापाठ जस्तै असार महिनामा पर्ने अखडिया पूजामा पनि ग्रामथानका अनेकन देवी देवताहरुको पूजापाठ गरिन्छ । नव बर्ष बैशाख महिनामा गरिने ग्रामथान देवी देवताको पूजा बिगतमा असार महिनामा गर्ने गरिन्थ्यो जसलाई अखडिया पूजाको नामाले प्रचलित रहयो ।

थारुहरु प्रकृति प्रेमी भएको र उनीहरुको जीविकोपार्जन पनि खेतीपातीमा नै निर्भर भएको हुनाले असार महिनामा गरिने अखडिया पूजामा मौसम अनुकूलता नमिलेको र क्रमश ग्रामथान मेला लाग्ने प्रचलनको शुरुुवात पनि हुने भएकाले बैशाख महिनामा सारिएको कुरा थारु भाषाका लेखक भोलाराम चौधरीको भनाइ रहेको छ ।
यस्तै यस अखडिया पूजामा ग्रामथानका अनेक लोक देवी देवता तथा बिछु धामी, सडियो धामी जस्ता प्रसिद्ध दिव्य व्यक्तिहरु, मोरंगका ऐतिहासिक राजा धनपाल, रनपाल लगायत प्राकृतिक वस्तुहरु जस्तै रुख, विरुवा, पशुपंक्षी, खोलानाला, नागनागिनी लगायतको ग्रामथानमा पूजा गरिन्छन् ।

थारु भाषाका लेखक राम सागर चौधरीका अनुसार हरेक ग्रामथानमा मुख्य धामीको पूजा गरिन्छ । यसबहेक राजा धनपाल, धामी धमियन, बघेश्वरी, हनुमान, लक्ष्मी, सहलेस, बाँध बधुुवार, टाँड टाँड्वार, गेहेवार–गेहेवारनी, डिहिवार–डिहिवारनी, काजेर–माजेर, गहिल, मलङ, गुरु गोरखनाथ, छोरीनाथ, छांैडादानो, हातीबन्धा, जलकुमारी, बिषहरा, शीतला, दिना र भद्रि, गैयाँ, काली, बुढासुब्बा, गेंनमहाराज, संसारी लगायतको पूजा पाठ गरिन्छ ।

यस अखडिया पूजामा थारुहरु ग्रामथान पूजामा पूजा सामग्रीको रुपमा खिर, सोहारी, केला, दहि चिउरा, पान प्रसाद, केराको पातमा चामल, केरा, तुलसीको पात, चिनीको लडु, पान सुपाडी हनुमान ठाकुरका लागि, माटाका हाती, घोडा, फुलघोडा, दुबो, धानको धुस, धान, फलफूल, हांसको अण्डा, रक्सी, तुलसीको पात, दुबो, फूल, फुल, कलश, मिठाई, फलफूल, सुपाडी, पान, धान, चामल, सिन्दुर, माटाको दियो, आँपको पात, हाँस, कुखुरा, परेवा पाठापाठीको बलि दिने पनि गरिन्छ । त्यस्तै गाउँघरमा उत्पादित रक्सी, खैनी, गाँजा, माटाको हण्डी, धुपौरो, अगरवत्ती, लाहाको चुरा, श्रृंगारका सामान, पैसा, केरा, केराको पात पनि पूजा सामग्रीको रुपमा प्रयोग हुन्छ ।

अर्काे महत्वपूर्ण पूजा सामग्री भनेको कागजको फूलघोडा ग्रामथानमा अर्पण गर्नुको अर्थ बालीनाली घोडाको गति झै फलोस्, फूलोस् र रोग व्याधी हटोस् भन्ने अर्थ लाग्छ । त्यस्तै जंगली हातीबाट किसानले लगाएको धानबालीमा क्षति नपुरयायोस भनेर देवी देवताको वाहान, माटाले बनाएको हाती , घोडा पनि चढाउने गर्दछन् । यसरी विधिपूर्वक गरिने पूजापाठले आफूले चिताएको पूरा हुने र धानबालीमा कुनै पनि किसिमको रोग व्याधीमा रक्षा हुने कुरा जनविश्वास छ ।

विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । अचेल आधुनिकताको नाममा एउटा अवसरको रुपमा निश्चित मितिमा असार १५ गते धान दिवस मनाउने गरिन्छ । सांस्कृतिक मान्यता अनुसार १५ असारलाई धान रोप्ने शुभ दिन मानिन्छ । नेपालमा हरेक बर्ष राष्ट्रिय चाडका रुपमा धान दिवस मनाइन्छ । मानिसहरुले यो धान दिवसको दिन दही च्यूरा खाई मनाउने गर्छन् ।

यो दिन धान रोप्ने मौसमको पनि शुरुवात हो । किसानहरुको धान रोप्ने उतम समय पनि हो । आफ्नो सिजनको पहिलो बिरुवाको रुपमा धान रोप्छन् र राम्रो फलको पनि आश गर्दछन् । राष्ट्रको खाद्यान्नको हिसावले पनि धानबाली महत्वपूर्ण छ । चामलको स्रोतको रुपमा रहेको धान नेपालीको महत्वपूर्ण खाना पनि हो । मूलतः अहिले सम्पूर्ण किसानहरुले नेपालमा राष्ट्रिय धान दिवस मनाउँछन् । अहिले यो राष्ट्रिय पर्वको रुपमा स्थापित भइसकेको छ ।

यस पर्वमा महिलाहरु धानको बाला रोप्छन् भने पुरुषहरु हलोले जमिन जोत्छन् । यस पर्व मनाउँने दिन देखि नै धान रोप्ने कार्यमा परिवारका सबै सदस्य व्यस्त हुन्छन् । यस किसिमको कृषि कार्यबाट पारिवारिक सदभाव पनि कायम हुन्छ । पारिवारिक रुपमा कडा परिश्रम गर्ने विश्वासको प्रतिक बन्न जान्छ किनकि यस किसिमको कडा परिश्रमले अगामी बर्षमा खाद्यान्न पुग्ने आशमा विश्वास गर्छन् । अहिले हरेक जात जाति धर्म संस्कृतिका मानिसहरु यो पर्व मनाउने गरेका छन् ।

विश्व जगतमा हेर्ने हो भने अमेरिका, चीन, भारत, रसिया, यक्रेन प्रमुख अनाज र बालीका शीर्ष उत्पादन गर्ने देशहरु हुन् । कृषि नै संसारको सबै भन्दा ठूलो र महत्वपूर्ण उद्योग मध्येको एक हो । विश्वमा धानका शीर्ष उत्पादन गर्ने उत्पादक देशहरु एशियामा अवस्थित छन् । विश्वमा उत्पादन हुने धानको आधा भन्दा बढी हिस्सा चीन र भारतको रहेको छ । चीन र भारतले मात्रै ५० प्रतिशत धान उत्पादन र उपभोग गर्छ । थाइल्याण्ड र इन्डानेसियाका साथै अन्य दक्षिणपूर्व एशियाली देशहरुमा पनि धान उत्पादन हुने प्राथमिक बाली हो ।

विश्वको आधा भन्दा बढी जनसंख्याको लागि चामल मुख्य खाध्य हो । विभिन्न अन्नवाली मध्येमा चामल विश्व बजारमा सबै भन्दा सुरक्षित खाद्य वस्तु मध्येको एक हो । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्मको अवधिमा नेपालले १८ अर्ब ९५ करोड रुपैयाँ बराबरको धान आयात गरेको छ ।
तर अहिले नेपालमा असार महिनामा गरिने धान रोप्ने कार्यमा मनाइने पर्व एउटा दिवसमा परिणत हुन पुगेको छ । एउटा तडक भडक उत्सवको रुपमा परिणत हुदै एउटामा नारामा मात्र सीमित भएको छ । देशमा बढदो आयातले जुन सुकै बेला विदेशी मुद्राको संकट आउन सक्छ । नेपालबाट निर्यात घटदा र आयात बढदा देशमा गंभीर समस्याहरु सिर्जना हुन सक्छन् ।

देशको बढदो आवश्यकता पूरा गर्न परम्परागत स्थानीय उत्पादनले पर्याप्त छैन । कृषि क्रान्ति बिना देश विकाश र समृद्ध सम्भव छैन र कृषिको आद्युनिकिकरण बाट नै देशमा पविर्तन सम्भव छ । देश आत्मनिर्भर बन्दै जान्छ र परनिर्भता पनि घटदै जान्छ ।

त्यसकारण खाद्य सुरक्षा, रोजगारी सिर्जना र गरिबि न्यूनीकरणका लागि कृषि नेपालको अर्थतन्त्रको लागि अत्यावशयक क्षेत्र हो । देशलाई आत्म निर्भर बनाउने माध्यममा आधुनिक बैज्ञानिक खेती पनि एक माध्यम हुन सक्तछ । चामल नेपालका प्रायः प्रत्येक परिवारको लागि प्रमुख खाद्य वस्तु भएकाले हुनाले राज्यले आफ्ना नागरिकहरुलाई खाद्य र पोषण सुरक्षा सुनिश्चित गर्न बैज्ञानिक कृृषि क्रान्ति अवलम्बन गर्नु अपरिहार्य छ ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]