प्रजातान्त्रिक समाजवाद र नेपाली कांग्रेस

Logo
राजु मास्के प्रकाशित शनिबार, भाद्र ०७, २०८२

नेपाली कांग्रेस नेपालको सबै भन्दा ठूलो समाजवादी-लोकतान्त्रीक राजनीतिक दल हो ।

समाजवादी विचार उन्नाइसौं शताब्दीको उत्पादन होइन। मानव इतिहाँसको पुरानो संस्कृति मानिएको सनातन धर्मको शुक्ल यजुर्वेदमा एउटा श्रीलाेक  यस्तो छ—‘यस सृष्टिमा भएका जड चेतन सबैमा ईश्वरको उपस्थिति छ। उसले दिएका कुराको उपभोग गरौं, अर्काको भागमा लोभ नगरौं। अर्थात् सृष्टिमा भएका वस्तुमा सबैको समान अधिकार हुन्छ।

उन्नाइसौं शताब्दीमा युरोपमा पुँजीवादको शोषण अत्यधिक भएको समयमा मार्कसले ऐतिहासिक भौतिकवादी व्याख्याद्वारा आर्थिक राजनीतिक तथा सिद्धान्त प्रतिपादन गर्दै साम्यवादमा पुग्नुभन्दा पहिलेको संक्रमणकालको अवस्थाको रूपमा समाजवादी व्यवस्थाको कुरा गरेका थिए। त्यसपछिका चिन्तकहरूले सर्वहाराको नाममा तानाशाही हुने अधिनायकवादी शासकसँग असहमति जनाई प्रजातान्त्रिक समाजवादको विचारलाई अगाढी  बढाएका थिए। त्यस वेला देखि  आज सम्म समाजवादी सिद्धान्तलाई  यो संसारको प्रभावशाली विचारको रूपमा लिईन्छ ।

२०१६ साल जेठ १३ गते प्रथम जन निर्वाचित सरकार नेपाली कांग्रेसका नेता विश्वेश्वरप्रसाद कोइरालाको कालमा धेरै दूरगामी महत्वपूर्ण कामहरू सुरु भएको छ  ।

जस्तै  बिर्ता र राज्य रजौटा उन्मूलन,जंगलको राष्ट्रियकरण, त्रिभुवन विश्वविद्यालय स्थापना, गाउँहरूमा शिक्षा लोकतन्त्रको आधार स्तम्भ भएको हुदा स्कृलमा प्राथमिक, निम्न माध्यमिक,माध्यमिक विद्यालयको स्थापना गरियो । कृषिमा प्रगति गर्न भूमिसुधार, बिर्ता उन्मूलन सहकारी आन्दोलन र  जमिनदारको शोषणमा रहेका किसानको हक सुरक्षित गर्ने काम सुरु भयो।

औद्योगिकरण गर्ने उद्देश्यले नेपाल उद्योग विकास निगमको स्थापना,  वीरगन्ज चिनी मिल, कृषि औजार कारखाना, जनकपुर चुरोट कारखानाहरूको स्थापनाका लागि रुससँग सम्झौता गरेर पूर्वपश्चिम राजमार्गको सर्वेक्षण गर्ने काम सुरु गरियो  । नेपाल वायुसेवा निगम स्थापना गरियो।

0000000

देश र जनताको पक्षमा काम गर्दै जाँदा विपीको सरकारको लोकप्रियता बढेको देखेर तात्कालिक  राजा महेन्द्रले अकस्मात् सरकार अपदस्त गरियो। यसो हेर्दा बीपीको समाजवादलाई सरकार सञ्चालनको छोटो कार्यकालमा व्यवहारिकरूपमा   प्रयोग गरिएको पनि देखियो । प्रवासमा रहँदा तरुण पत्रिकामार्फत् समाजवादसम्बन्धी विभिन्न मन्च , सम्मेलनहरूमा आफ्ना समाजवादी धारणा राख्नु हुन्थ्यो ।

सिड्नी सम्मेलनमा उहाँको व्याख्यान अन्तर्राष्ट्रिय समाजवादीहरूमा पछि  चर्चित पनि भयो। समाजवादको सम्बन्धमा एउटा लामो व्याख्यान २०३७ सालमा पाल्पाको प्रशिक्षण कार्यक्रममा दिनु भएको थियो।

त्यो के थियो भने

उहाँले मानिसको उत्पत्तिको समयदेखिको विश्लेषण गरेर स्वभावैले मानिस समाजवादी भएको विचार प्रस्तुत गर्दै तत्कालीन समयमा साम्यवादमा प्रजातन्त्र थपिदिए समाजवाद हुन्छ र समाजवादबाट प्रजातन्त्र झिकिदिए साम्यवाद हुन्छ भन्नुभयो। यो नेपालको सन्दर्भमा  धेरै चर्चित भयो र यसै बारेमा भोला चटर्जीले एउटा अन्तर्वार्तामा साम्यवाद र समाजवादको फरक यति नै हो त  प्रश्न गर्दा अरू भिन्न  हुँदैन भनी प्रश्न गर्दा त्यो त प्रजातन्त्र स्वीकारपछि प्रजातन्त्रको चरित्र र त्यसबाट प्राप्त हुने अधिकारले  समाधान गर्छ भन्नुभयो।

बीपीले समाजवादलाई केबल आर्थिक सिद्धान्तका रूपमा मात्र हेर्नु भएन। तेस्रो विश्वका जनताको आशा र आस्थाको मियो बनाउनुभयो। समाजवादको मूल भावना समानता हो, समानता आर्थिक र राजनीतिक दुवै हुनुपर्छ भन्नु हुन्थ्यो । उहाँको विचारमा प्रजातन्त्र बिनाको समाजवाद (रुसी मोडेल) राज्य पूंजीवाद हो तर प्रजातन्त्र समाजवादको आत्मा हो भने समाजवादबेगर प्रजातन्त्रको स्वस्थ जीवन असम्भव छ भनेर नै  २०१२ सालको नेपाली कांग्रेसको छैठौ महाधिवेशनबाट  प्रजातान्त्रिक समाजवाद भन्ने नामाकरण उहाँले नै गर्नुभयो।

दोस्रो विश्वयुद्धपछि स्वतन्त्रता प्राप्ति गर्दा भारत, बर्मा, श्रीलंकालगायतका देशहरूले प्रजातान्त्रिक शासन प्रणाली र समाजवादी आर्थिक नीति लागु गरियो । नेपाली कांग्रेसको ईतिहास घटनालाई नमिठो तरिकाले सम्मझिनु पर्दा कांग्रेसले  सरकारको नेतृत्व गर्दा नेपाली कांग्रेस स्थापना पछि हालसम्म दुई पटक पार्टीमा ठूला विभाजन भएका देखिन्छ ।

पहिलो पटक २००९ सालमा पाटीॅ विभाजन हुँदा नेपाली कांग्रेस नेतृत्वको सरकार थियो। पार्टी विभाजन हुँदा मातृकाप्रसाद कोइराला प्रधानमन्त्री र वीपी कोइराला पार्टी सभापति थिए।
दोस्रो पटक २०५९ सालमा नेपाली कांग्रेस  विभाजन हुँदा शेरबहादुर देउवा प्रधानमन्त्री र सभापतिमा  गिरिजाप्रसाद कोइराला थिए।

गिरिजा प्रसाद कोइरालाले २०५७ सालमा पोखरामा भएको दशौं महाधिवेशनमा शेर बहादुर  देउवालाई पराजित गरेर सभापति भएका थिए । सरकारको नेतृत्व गरेका देउवालाई २०५९ सालमा संकटकाल नथप्न  पार्टीले निर्देशन दिएको थियो । त्यसबेलामा माओवादी द्वन्द्व चरम अवस्थामा थियो। देउवाले पार्टी निर्देशन अवज्ञा गर्दै संकटकाल लम्ब्याए। केन्द्रीय समितिमा कोइरालाको  बहुमतमा थियो । उनले पार्टी बैठक राखेर देउवालाई साधारण सदस्यता नरहने गरि पाटीॅबाट बर्खास्त गरेका थिए ।

देउवाले २०५९ असार  ४ गते  बानेश्वरमा आफनो विचार समुहको  भेला गरेर नयाँ पार्टी नेपाली कांग्रस (प्रजातान्त्रिक) गठनको घोषणा गरेर आफनो नेतृत्वमा नेपाली कांग्रस (प्रजातान्त्रिक)पाटीॅको स्थापना गरेका थिए।

त्यसबेला शेर बहादुर  देउवालाई नेपाली कांग्रेसका नेताहरू गोपालमान श्रेष्ठ प्रकाशमान सिंह, विमलेन्द्र निधि , विजयकुमार गच्छदार, पूर्णबहादुर खड्का , समाजवादी चिन्तक प्रदिप गिरी , ज्ञानेन्द्र बहादुर कार्की,बालकृष्ण खाँण,  लगायत नेताले साथ दिएका थिए।

पार्टी फुटेको पाँच वर्षपछि पुन: दुवै कांग्रेसबीच एकता गरि   गिरिजा प्रसाद कोइराला  नेपाली कांग्रेसको  सभापति र नेपाली कांग्रेसको वरिष्ठ नेता शेरबहादुर देउवा भएका थिए । त्यसकारण  नेपाली कांग्रेसको इतिहास जति लामो छ, पार्टीभित्र गुटको इतिहास उति नै लामो छ। किनभने  नेपाली कांग्रेसका कार्यकर्तामा दुइटा विषयमा केही दुविधा देखिन्छ । त्यो के हो भने २०१२ सालदेखि कांग्रेसले समाजवादलाई आर्थिक सिद्धान्त बनायो र २०३३ सालदेखि राष्ट्रिय एकता र मेलमिलापको नीति अनुशरण गरेको काग्रेसको गतिविधी सञ्चालन गरियो ।

यी दुवै सिद्धान्त र नीतिको व्याख्याता बीपी कोइराला हो। बीपी जीवित रहुन्जेल यिनको बारेमा केही प्रश्न उठ्यो  उहाँसँग भेटेपछि समाजवाद र मेलमिलापबारे आफ्नो विचार र तर्क दिनुहुन्थ्यो सबै सन्तुष्ट हुन्थ्यौं। त्यस पछि  उहाँको देहावसानपछि पनि कांग्रेस यही सिद्धान्त अनुसार  चल्यो ।

त्यस पछि २०४६ को जनआन्दोलन ०४८ को कांग्रेसको सरकारको नेतृत्व  र पुनः ०६२-६३ को जनआन्दोलनपछि कांग्रेसमा समाजवाद र मेलमिलापको बुझाइमा मतभेद हुन थाल्यो । केही नेता कार्यकर्ता भन्छन्, कांग्रेसले बीपीको समाजवादी बाटो छोड्यो र राष्ट्रिय मेलमिलाप नीतिको पनि पालना गरेन, त्याग्यो।

केही नेता कार्यकर्ता  भन्छन्, कांग्रेसले बीपीको विचार छोडेको छैन। यसरी नै अहिले सम्म मतभेद चलिआएको छ। त्यसकारण हामीले बुझ्नु पर्ने कुरा के हो भने बीपी राजनीतिक विचारकको साथै  चिन्तक पनि हो ।

दोस्रो विश्वयुद्धपछि स्वतन्त्रता प्राप्ति गर्दा भारत, , श्रीलंका, बर्मा लगायतका देशहरूले प्रजातान्त्रिक शासन प्रणाली र समाजवादी आर्थिक विचार अनुशरण गरेको थियो नेपालले पनि  राणाशासन समाप्ति पछि  प्रजातान्त्रिक शासन प्रणालीको नीती  अवलम्बन गर्‍यो तर निर्वाचित सरकारको अभावमा दृढ आर्थिक नीति भएन। २०१५ सालको निर्वाचनपछि निर्वाचित सरकारले समाजवादी कार्यक्रम लागू त  गर्‍यो। तर तत्कालिन राजा महेन्द्रको सत्ताभोकले १८ महिनामा नै सैनिक बलबाट सरकार र संसद् भंग गरियो।

बीपीको सरकार पूरा समय चल्न पाएको भए नेपाली कांग्रेसको नीति अनुसारको आर्थिक विकास नेपाली जनताले देख्ने थियौं। नेपालको आर्थिक अवस्था पनि अहिले भिन्न हुने थियो। तर २०१७ साल पुस १ को प्रतिगामी कदमले त्यो अवसर गुम्यो।

२०४८ सालमा कांग्रेसको सरकार गठन भएपछि ग्रामीणमुखी बजेट निर्माण भयो। शिक्षा स्वास्थ्यमा राष्ट्रको लगानी वृद्धि भयो। माध्यमिक तहसम्मको शिक्षा निःशुल्क गर्ने निर्णय भयो। पिउने पानी, सिँचाइ, सडक निर्माण,सञ्चारको विकासमा प्रभावकारी काम भए राज्यको क्षमताअनुसार सामाजिक उत्तरदायित्व लिने नीति अवलम्बन भयो।

औद्योगीकरणका लागि नीतिगत अनुकूलता सिर्जना भयो। निजी क्षेत्रले उद्योग व्यवसायमा लगानी गर्ने वातावरण बन्यो।  श्रमिकहरूको हितका लागि श्रम कानुन निर्माण भयो। अर्कोतर्फ शिक्षा,स्वास्थ्यमा निजी क्षेत्रलाई पनि लगानी गर्न दिने नीति बन्यो।

सरकारी लगानी र व्यवस्थापनमा चलेका बाँसबारी छालाजुत्ता, हरिसिद्धि इटा टायल उद्योग,भृकुटी कागज कारखाना निजीकरण गरियो। २०५१ सालमा पार्टीको आन्तरिक झगडाको कारण  मध्यावधि निर्वाचन भयो।

त्यसपछि ०७४साल सम्म स्थिर सरकार बन्न सकेन । यस बीचमा कम्युनिस्ट पार्टीका धेरैपटक सरकार बने तर नेपाली जनताले गौरवसाथ महसुस हुने कुनै पनि काम गरेको देखिदैन तर नेपाली  कांग्रेसको सरकारले लिएका नीति अहिलेसम्म यथावत नै छन् तर  नेपाली जनताले गौरव गर्नु पर्छ । नेपालमा  २०४६ सालको अवस्था भन्दा अगाडी सम्झिनु पर्दा नेपाली जनताको लागी एउटा त्रिभुवन विश्वविद्यालय , चिकित्सा शिक्षाका लागि शिक्षण अस्पताल महाराजगन्ज र इन्जिनियरिङका लागि पुल्चोक क्याम्पस मात्र थिए।

देशको माग धान्न सक्ने अवस्था थिएन। मित्र देशका छात्रवृत्तिले माग धान्न सक्दैन्थे। इच्छुक विद्यार्थीलाई पढ्न निजी खर्चमा बाहिर जानुपर्ने र सानो उपचारका लागि पनि बाहिर जानुपर्ने बाध्यता थियो। त्यस समयमा सरकारसँग अरू शिक्षण अस्पताल, इन्जिनियरिङ कलेज निर्माण र सञ्चालन गर्ने क्षमता थिएन।

अध्ययन र उपचारका लागि विदेश जाँदा स्वदेशी धन त विदेश जाने नै भयो,  विदेशी मुद्रा पनि धेरै खर्च हुने भयो। तर २०४८,सालको नेपाली कांग्रेसको नेतृत्वमा भएको सरकारले  निजी क्षेत्रलाई  शिक्षा,स्वास्थ्यमा प्रवेश गराएकाले नै गुणस्तरीय अध्ययन र उपचारका लागि विदेश नै जानुपर्ने बाध्यता अहिले आएर  हटेको छ ।  आर्थिक क्षमता भएका र बाहिर पढ्ने रुचि भएका तथा महँगो उपचारमा विश्वास गर्नेहरूलाई त जहिले पनि खुला छ ।

अहिले परिवेश बदलिएको छ। कांग्रेसले २०४८ साल देखि २०५१ सालमा गरेको उद्योगको निजीकरण सबभन्दा बढी विवादित छ। विपक्षीको आलोचना त छँदैछ,स्वयं कांग्रेसका कार्यकर्तामा पनि यसमा विभाजित मत छ। अहिले आएर स्वास्थ्य र शिक्षामा निजी क्षेत्रको प्रवेश पनि बहसको विषय भएको छ।

कांग्रेसको समाजवादी बाटोको बारेमा अरू केही सामान्य प्रश्न रहे पनि मुख्यतया उद्योगको निजीकरण र शिक्षा,स्वास्थ्यको निजी लगानीलाई लिएर नै प्रश्न उठाउने आलोचना गर्ने गरिन्छ।

शिक्षा स्वास्थ्यमा निजी क्षेत्र प्रवेश पछिका गुणदोषको साथै  राज्यको पनि  क्षमता वृद्धि भएको छ। राज्यको सामथ्र्य वृद्धिको अनुपातमा नागरिकको सेवा सुरक्षामा वृद्धि गर्दै जानु नै सामाजिक न्याय हो। नागरिक जीवन सुरक्षित र स्वस्थ राख्नु तथा शिक्षित बनाउनु राज्यको दायित्व हो। भोक र रोगको चिन्ताबाट मुक्ति र सुलभ शिक्षा नागरिकको प्राथमिक अधिकार हो।

बीपीको प्रजातान्त्रिक समाजवादको सार पनि यही हो। त्यसैले सुलभ गुणस्तरीय शिक्षा र स्वास्थ्यको प्रबन्ध गर्नैपर्ने कांग्रेसको अबको नीति हुनुपर्छ। सुरुमा  सबैको पूर्ण निःशुल्क गर्न क्षमता पुग्दैन होला। तर सामाजिक न्यायको दृष्टिले आर्थिक स्तरको आधारमा विपन्नलाई प्राथमिकता दिई क्रमानुसार निःशुल्क सेवासुविधा दिनुपर्छ। संविधानमा लेखिँदैमा र नारा दिँदैमा समाजवादको उद्देश्य प्राप्त हुँदैन। उपभोग गर्न पाउने सेवासुविधा र अधिकारले मात्र प्रजातान्त्रिक समाजवादलाई प्रतिनिधित्व गर्छ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]