सार्वजनिक सम्पत्ति नै निजी लाभको माध्यम

Logo
निर्मल कुमार राजवंशी प्रकाशित सोमबार, जेठ ०४, २०८३

“पहिलेका पुस्ताले अभावमा पनि समाजका लागि दिन्थे; अहिले धेरै ठाउँमा साधन भएर पनि सार्वजनिक सम्पत्ति नै निजी लाभको माध्यम बन्ने प्रवृत्ति देखिन्छ।”

नेपालका गाउँहरूमा राज्यको पहुँच निकै सीमित थियो। सडक, खानेपानी, विद्यालय, पुल—यी धेरै कुरा स्थानीय मानिसहरूले आफ्नै श्रम र सानो कमाइबाट बनाएका थिए। कसैले घाँस काटेर, कसैले दाउरा बेचेर, कसैले ज्याला मजदुरी गरेर पैसा जम्मा गर्थे र त्यसबाट सार्वजनिक काम गर्थे।जस्तै:- कुवा, इनार र पँधेरा बनाउने चलन अदी।

पहिले धेरै गाउँमा खानेपानीको सुविधा थिएन। त्यसैले गाउँका सम्पन्न मात्र होइन, गरिब किसानहरू समेत मिलेर सार्वजनिक कुवा खन्ने गर्थे। कसैले आफ्नो खेतको कुनामा जमिन दियो, कसैले मजदुरीको पैसा दियो। त्यो कुवा सबैको लागि हुन्थ्यो।
पूर्वी नेपालका मोरङ, सुनसरी, झापा लगायत क्षेत्रमा अहिले पनि कतिपय पुराना कुवा छन्, जसको नाम कुनै सरकारी योजना होइन, स्थानीय दाताको नामसँग जोडिएको पाइन्छ।

पाटी–पौवा र चौतारा नेपाली समाजको अनौपचारिक सार्वजनिक सेवा प्रणाली थियो।
यात्रुहरूलाई आराम गर्न, पानी खान, रात बिताउन बनाइने यी संरचनाहरू धेरैजसो व्यक्तिहरूले आफ्नो निजी कमाइबाट बनाएका थिए।

कसैले विदेश (भारत, आसाम, दार्जिलिङ) मजदुरी गरेर फर्केर गाउँमा पाटी बनाइदिएको उदाहरण प्रशस्त छ।
कुलो र सिंचाइ खेतीका लागि पानी पुर्‍याउन गाउँलेहरू मिलेर कुलो बनाउँथे। समुदाय स्वयंले योजना बनाउँथ्यो, श्रमदान गर्थ्यो, मर्मत गर्थ्यो।

कतिपय ठाउँमा एक परिवारले आफ्नो बारी बेचेर पनि कुलो बनाउन योगदान दिएको कथा सुनिन्छ।

अहिलेको अवस्था बजेट आयो, तर नैतिकता कमजोर भयो। आज नेपाल सरकार बाट गाउँपालिका, नगरपालिका, वडा हुँदै करोडौं रुपैयाँ विकास बजेट जान्छ। सडक, नाला, भवन, खानेपानी, विद्यालय निर्माणका लागि छुट्याइएको पैसा जनताको कर र राज्यको स्रोत हो। तर धेरै ठाउँमा समस्या के देखिन्छ भने कागजमा योजना पूरा, जमिनमा अधुरो, गुणस्तरहीन सडक, पहिलो वर्षमै भत्किने, उपभोक्ता समिति वा ठेक्कामा कमिसन, सार्वजनिक बजेटबाट निजी घर, गाडी, शक्ति बढाउने, विडम्बना के भने, यस्ता काममा संलग्न मानिसहरू नै समाजमा “ठूला नेता”, “समाजसेवी”, “माननीय” भनेर सम्मानित हुन्छन्।

ऐतिहासिक तुलना पुरानो पुस्ता अभाव थियो राज्यको सहयोग कम थियो तर नैतिकता बलियो थियो समाजका लागि आफ्नै कमाइ खर्च गर्थे । अहिलेको पुस्ताको केही भाग बजेट धेरै छ स्रोतसाधन धेरै छन् तर कतिपयमा स्वार्थ बलियो समाजका लागि आएको पैसा पनि निजीकरण हुन्छ ।

“उहिले घाँस काटेर बेचेर कुवा बनाउने मानिस समाजसेवी थिए, आज विकासको पैसा खाने मानिस पनि महान् कहलिन्छ।”
यो केवल व्यंग्य होइन; नेपाली समाजको मूल्य परिवर्तनको यथार्थ चित्र हो।

नेपालको पुरानो समाजमा सेवा भन्नाले त्याग बुझिन्थ्यो।
आज धेरै ठाउँमा सेवा भन्नाले बजेट ल्याउनु, बोर्डमा नाम राख्नु, र प्रभाव देखाउनु जस्तो बुझिन थालेको छ।

पहिले चरित्रले सम्मान पाइन्थ्यो; अहिले पहुँच र सम्पत्तिले। “काम केही गर्‍यो, अलिकति खायो भने के भयो” भन्ने सोचले भ्रष्टाचार सामान्य बनायो। दल र पहुँचले गलत काम गरे पनि सामाजिक प्रतिष्ठा जोगाइदिन्छ।

अतः साँचो महानता भने आज पनि उही हो आफ्नो पसिना र इमानले समाजलाई केही दिनु।

सरकारी पैसाबाट काम गरेर पनि इमानदार बन्न सकिन्छ; तर सार्वजनिक विकासको पैसा खाएर महान् बन्न सकिँदैन। इतिहासले अन्ततः कुवा बनाउने मानिसलाई नै सम्झन्छ, कुवाको बजेट खानेलाई होइन।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]