पूर्वी तराईमा मोरङिया थारुहरूले मनाउने दशमीको आफ्नै पहिचान

Logo
राजेश कुमार सरदार थारु प्रकाशित बिहिबार, आश्विन १६, २०८२

सबै पर्वहरुको आफ्नै किम्बदन्ती भएजस्तै दशैंको पनि आफ्नै किम्बदन्ती छ । हिन्दू धर्मअनुसार महिषासुरमाथि दुर्गाको विजय, रावणमाथि श्रीरामको विजय वा खराबमाथि असलको विजय भएकाले यसलाई विजया दशमी पनि भनिन्छ । सामान्यत दशैँ असत्यमाथि सत्यको विजयका रुपमा बिश्वास गरिँदै आएको छ ।

तर आफ्नो आदिकालदेखि रहनसहन, जन्मदेखि मृत्युसम्मको संस्कारका प्रकियाहरु पृथक तरिकाले मनाउँदै आएको थारु जातिको लागि दशैं (दशमी, दशिया वा दशहरा) मनाउने प्रकिया र पराम्परा पृथक नै छ ।

यसमा हिन्दू धर्ममा वर्णित महिषासुर र दूर्गा अनि लङ्काका राजा रावण वा रामचन्द्रद्वारा विजय प्राप्ती आदिजस्ता कुनै कुराको कतै पनि सन्दर्भ नरहेको थारु जातिको दशैं निकै पृथक छ ।

आफ्नो भाषा, परम्परा र संस्कृति, संस्कारले छुट्टै पहिचान बोकेको थारु जातिमा अहिले पर संस्कृतिको निकै प्रभाव परेको देखिन्छ । आदिकाल देखिको परम्परालाई बिर्सदै र बिस्तारै छोड्दै गएको पाइन्छ । थारुहरुको दशैं आफ्नो छुट्टै मुल्यमान्यता र बिशेषता बोकेकोले छुट्टै प्रक्रियाले मनाउने गरेको पाइन्छ ।
दशैं शुरुवात भए सँगै घर आँगन घरको कुना काप्चा सफा गरिन्छ । दशैं आराम, भोज र आनन्दको समय हो। मानिसहरूले कामबाट समय निकाल्छन्, आफ्नो घर सफा गर्छन् र सजाउँछन्, र उत्सव मनाउन विशेष खाना तयार गर्छन्। यो पर्व मनसुन ऋतुको अन्त्य र बाली काट्ने मौसमको सुरुवातलाई चिन्हित गर्दछ, जुन प्रशस्तता र समृद्धिको प्रतीक हो।

माकुराको जालो झारिन्छ । घरका महिलाहरु घर को भित्ता, भित्र र बाहिर गोबर पानीले लिपपोत गर्छन् । चारै तिर सफा सुघहर गरे सँगै सुरक्षात्मक हिसाबले बार लगाउने गर्दछन् । दशैंको सुरुवातसँगै पारिवारिक सदस्यहरुमा शारीरिक दुःख कष्ठ आई पर्ने जादू टोना र खराव नजरले घरमा प्रवेश नहोस भन्ने हेतुले चुन र काजलको चिन्ह लगाउने गर्दछन् ।

यसका साथै दशैको शुरुवात संगै बालबालिकामा बोकसीको आँखा नलागोस भनेर घरको देवी देवतालाई नियमित पूजा गर्ने दियो बतीको तेल र काजलले कानको छेछ कपालमा लगाई दिने जन विश्वास रहेको कुरा थारु लेखक राम सागर चौधरी बताउँछन् ।

यस दिन देखि देवता घर जसलाई भन्सी घर भनिन्छ शुद्ध झाडु खर बाट बनेको चोखो झाडु देवता घरमा राख्ने गर्दछन् ।

फूलहथा
यो फूलहथा भन्नाले धामी विद्याको परीक्षा हो । यो फूलहथा घठस्थापना देखि पूर्णिमा सम्म गरिने पूजा हो । यस पूजामा पान, सुपाडी, तुलसीको पात, परेवा चढाइन्छ । यसमा नयाँ धामी बन्ने अवसर पनि हो र पुरानो धामीको मन्त्रको परीक्षा पनि हो । यसबाट धामी मन्त्र विद्यामा शक्तिशाली बन्दै जानेमा विश्सास गरिन्छ ।

खाँड पूजा (हतियारको पूजा)

सप्तमी, अष्टमी वा नवमीको दिन खाड पूजा गर्दछन् । खाड पुजामा घरायासी हात हतियार धोई पखाली गर्दछन्। बिशेष गरी खुकुरी तरवार लगायत हतियार को पूजा गर्ने गर्दछन् ।
देवी काली शक्तिको अवतार र दुष्टताको नाश गर्ने भएकोले, दुष्टता विरुद्धको युद्धमा प्रयोग हुने हतियारहरूको पनि पूजा गरिन्छ । अस्त्र पूजा भनेर चिनिने यो अनुष्ठानमा विभिन्न पेशाहरूमा प्रयोग हुने हतियार, औजार र उपकरणहरूको पूजा गरिन्छ ।

जसमा तिनीहरूको प्रभावकारी र सुरक्षित प्रयोगको लागि आशीर्वाद मानिन्छ । हात हतियार को पूजाले युद्ध र बली दिने कार्यमा सहयोग पुग्ने विश्वासले पिठोको घोलाबाट बनेको हातको पंजाको छाप र सिन्दुर लगाई पूजा गर्ने गर्दछन् ।

छेदभोग (पशुबलि)

नवमीको को दिनलाई मोरङिया थारुहरू छेद भोग भन्ने गर्दछन् । यस दिन काली थानमा गई आफूले भाकल गरे बमोजिमको पशु बली दिने गर्दछन् । पशुबलि पनि महानवमी अनुष्ठानको एक महत्वपूर्ण भाग हो । मन्दिर र घरेलु वेदीहरूमा बोका, हाँस, परेवा, कुखुराको बलि चढाइन्छ । त्यसपछि बलि दिइएको मासु पकाइन्छ र “प्रसाद“ को रूपमा उपभोग गरिन्छ ।

चिटफोट

यसै दिन घर, झ्याल, ढोका, कल, बखारी आदि ठाउँमा चिट फोट दिने गर्दछन् । चिटफोट को अर्थ श्रृङ्गार हो । अर्थात् देवी देवता लाई पिठोको घोलाले पञ्जा आकारको चित्रले स्वागत गर्दछन । घरको कुना, झ्याल, ढोका, देवता घर पाँच औलाको छाप लगाउने गर्दछन् । यसलाई सुरक्षात्मक कवचको रुपमा लिन सकिन्छ ।

पञ्जा को चित्रको प्रत्येक औंलाको छापको माथिल्लो भाग टुपोमा सिंदूरको टिका लगाई दिनु पर्दछ । यसैलाई चिट फोट भनिन्छ। ग्रामथान—१, बस्ने ७५ बर्षिया ऐना देवी थारुको अनुसार बिशुद्ध किसानको रुपमा रहेको थारुहरूमा पीठोको घोला र सिन्दुरले देवी देवता लाई पूजा आजा गरी सम्झिने गर्दछन् । यस किसिमको पूजा पाठले घरमा कुनै किसिमको आपत विपत आई नपरोस् । सधैं पारिवारिक सदस्यहरूको रक्षा गरुन भन्ने कामना पनि गर्दछन्।

कुभिण्डोको बली

ग्रामथान—६, धनिगाँउ बस्ने ६५ बर्षिया शिव नारायण चौधरकिो अनसुार नवमीको दिन कुभिण्डोको बली दिने गर्दछन् । थारू समुदायले महानवमीका दिन बिहान आफ्ना कुल देवतालाई कुभिन्डोको बलि दिने गर्छन्। कुभिन्डोलाई भेडाको प्रतीक मानेर बलि दिने चलन छ । कुभिण्डो बलिको प्रतिक हो । कसैले भाकल को आधारमा काली थानमा गई परेवा, हास, बोका चढाउने गर्दछन्। पशु बली दिन नसकेको खण्डमा कुभिण्डो लाई पशु बलिको प्रतिक को रूपमा बली दिने गर्दछन् ।

विजया दशमीको दिन उनीहरु मेला घुम्ने, रमाइलो गर्ने काली मन्दिर जाने टिका र जमरा लगाउने चलन भने विस्तारै उनीहरुमा देखिन थालिएको छ ।

दशैलाई दशमी भनेर मनाइने यो पर्वमा थारु समुदायको आफ्नै मौलिक संस्कृति छन् । आश्विन महिनाको शुक्ल पक्ष (उज्ज्वल चन्द्र रात) बाट सुरु भएका दशै कोजाग्रत यो घटस्थापनाको दिनबाट सुरु हुन्छ र कोजाग्रत पूर्णिमाको दिन समाप्त हुन्छ ।
यस पूर्णिमाको दिन गोठाले पव मनाईन्छ । थारु समुदायमा पूर्णिमाको दिन कुँड पावन मनाउँने गर्दछन् । यस पुर्णिमाको दिन धामी झाँक्रीले आफ्नो तन्त्र विधाको नवकिरण गर्ने दिन पनि हो यसले मन्त्र विद्यामा नयाँ उर्जा दिन्छ र थप धामीलाई शक्तिसाली बनाउँदछ भन्ने विश्वास छ ।

दशमी पर्वले परम्परागत अभ्यास र रीतिरिवाजहरूको संरक्षण र प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्छ । यस चाडमा पुस्तादेखि पुस्तासम्म हस्तान्तरण गरिएका असंख्य अभ्यासहरू समावेश छन्, जसले यी सांस्कृतिक तत्वहरू आधुनिक समयमा जीवित र सान्दर्भिक रहन सुनिश्चित गर्दछ ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]