थारु सम्वतः समय गणनाभन्दा पर जीवन दर्शन र सांस्कृतिक पहिचानको आधार –
बिराटनगर ।
विक्रम सम्वत, नेपाल सम्वत र इस्वी सम्वतजस्ता समय गणना प्रणाली नेपाली समाजमा प्रचलित भए पनि आदिवासी थारु समुदायको आफ्नै ऐतिहासिक थारु सम्वत बारे अझै धेरै नागरिक जानकार छैनन्। जानकारहरूका अनुसार थारु सम्वत केवल मिति र वर्ष गन्ने माध्यम मात्र नभई बुद्ध दर्शनमा आधारित जीवन पद्धति, सामाजिक मूल्य र सांस्कृतिक पहिचान को प्रतिरूप हो।
थारु समुदायले परम्परागत रूपमा माघ १ गतेलाई नयाँ वर्ष का रूपमा मनाउँदै आएको इतिहास छ। माघी पर्वका रूपमा चिनिने यस दिनलाई आर्थिक, सामाजिक र सांस्कृतिक पुनःआरम्भको दिन मानिन्छ। तर लामो समयसम्म यो परम्परा लिखित सम्वतका रूपमा संस्थागत हुन नसक्दा थारु सम्वत मौखिक अभ्यासमै सीमित रह्यो। यसका कारण समयक्रमसँगै यसको प्रयोग कमजोर हुँदै गई लोप हुने अवस्थामा पुगेको सरोकारवालाहरू बताउँछन्।
थारु सम्वतलाई ऐतिहासिक र वैज्ञानिक आधार दिन विद्वान् तथा अनुसन्धानकर्ताहरूले गरेको अध्ययनअनुसार यसको आधार भगवान् बुद्धको जन्म मिति (ई.पू. ६२३, वैशाख पूर्णिमा) लाई मानिएको छ। यही आधारमा वि.सं. २०६४ भदौ २२ (सन् २००७ सेप्टेम्बर ८) मा दाङको घोराहीमा आयोजित पत्रकार सम्मेलनमार्फत थारु सम्वतको औपचारिक घोषणा गरिएको थियो।
अनुसन्धान टोलीका अनुसार सन् २००७ जनवरी १५ अर्थात् माघ १ गतेबाट थारु सम्वत २६३० सुरु भएको हो। थारु समुदायमा नयाँ वर्ष माघ १ गते पर्ने भएकाले थारु सम्वतको गणना पनि यही मितिलाई आधार मानेर गरिन्छ। हरेक वर्ष माघ १ गते सुरु हुने नयाँ थारु सम्वतले समुदायको ऐतिहासिक समय–चेतनालाई पुनर्जीवित गरेको विश्वास लिइएको छ।
थारु सम्वत र विक्रम सम्वतबीच केही समानता र भिन्नता रहेका छन्। गते र बार विक्रम सम्वतअनुसार नै रहने भए पनि वर्ष र महिनाको अंक गणना फरक हुने गर्छ। थारु सम्वतमा थारु भाषा, संस्कृति र सभ्यताको पहिचानलाई विशेष महत्व दिइन्छ। यही कारण विक्रम सम्वतको एउटै वर्षभित्र दुई फरक थारु सम्वत पर्न सक्ने अवस्था आउने जानकारहरूको भनाइ छ।
कतिपय स्थानमा थारु सम्वतको वर्ष निर्धारणमा भ्रम देखिएको छ। जानकारहरूका अनुसार माघ १ लाई आधार नमानी गणना गर्दा त्रुटि हुने गरेको हो। सही गणनाअनुसार वि.सं. २०७३ माघ १ गते थारु सम्वत २६४०, वि.सं. २०७४ माघ १ गते २६४१, वि.सं. २०७५ माघ १ गते २६४२, वि.सं. २०७६ माघ १ गते २६४३ र वि.सं. २०८२ माघ १ गते थारु सम्वत २६४९ सुरु भएको हो।
थारु सम्वतलाई थारु समुदायको ऐतिहासिक पहिचान, सांस्कृतिक निरन्तरता र सामाजिक एकताको प्रतीक का रूपमा लिइएको छ। यसले समुदायभित्र आत्मसम्मान बढाउनुका साथै सद्भाव, सह–अस्तित्व र अहिंसा को दर्शन प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।
थारु कल्याणकारिणी सभा सुनसरीका जिल्ला सभापति सगेन चौधरी ले विक्रम सम्वत २०८२ माघ १ गतेदेखि थारु सम्वत २६४९ सुरु भएको उल्लेख गर्दै भने, “थारु सम्वत २६४८ समाप्त भई नयाँ सम्वत सुरु भएको दिनलाई थारु समाजमा तिला सङ्क्रान्ति भनिन्छ। यो दिन हाम्रो पहिचान र एकताको प्रतीक हो।”
थारु समुदायका अगुवा तथा बुद्धिजीवीहरूले थारु सम्वतलाई शिक्षा, सञ्चार माध्यम र सार्वजनिक व्यवहारमा प्रवर्द्धन गर्न सके यसले नेपालको बहुसांस्कृतिक पहिचानलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्। थारु सम्वत समय गणनाभन्दा पर गएर सभ्यता, दर्शन र सांस्कृतिक आत्मपहिचानको महत्वपूर्ण आधार बन्ने अपेक्षा गरिएको छ।