रेडक्रस अध्यक्ष भण्डारीद्वारा तीन जिल्ला शाखा र स्वास्थ्य संस्थाको निरीक्षण
जनकपुर । नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डा. विशालकुमार भण्डारीले मकवानपुर, सिन्धुली र धनुषा जिल्ला शाखाका गतिविधिको निरीक्षण गर्नुभएको छ। उहाँले जनकपुर आँखा अस्पताल र बर्दिबासस्थित रक्तसञ्चार केन्द्रको समेत स्थलगत अवलोकन गर्नुभएको हो।
निरीक्षणका क्रममा अध्यक्ष भण्डारीले जिल्ला शाखाहरूले सञ्चालन गरिरहेका गतिविधि, केन्द्रीय समितिको भावी योजना, रेडक्रसको संस्थागत रूपान्तरण तथा पुस्तान्तरणका विषयमा सम्बन्धित पदाधिकारीहरूसँग छलफल गर्नुभएको थियो।
जनकपुर आँखा अस्पतालको सेवा प्रवाह र भौतिक पूर्वाधारमा भइरहेको सुधारप्रति सन्तुष्टि व्यक्त गर्दै उहाँले धनुषा जिल्लामा रक्तसञ्चार सेवाको क्षेत्रमा भएको प्रगतिका लागि धन्यवाद दिनुभयो।
त्यसैगरी, बर्दिबासस्थित रक्तसञ्चार केन्द्रको सेवाप्रवाहलाई थप गुणस्तरीय, प्रभावकारी र व्यवस्थित बनाउने विषयमा पनि छलफल गरिएको नेपाल रेडक्रस सोसाइटीले जनाएको छ।
