विराटनगरमा १५ महिलालाई अर्गानिक हार्पिक, फिनेल, सरफ र साबुन बनाउने तालिम

Logo
भोजराज घिमिरे प्रकाशित शुक्रबार, मंसिर १२, २०८३

विराटनगर । महिलालाई सीप सिकाएर आत्मनिर्भर बनाउने तथा घरेलु उद्योगमार्फत आयआर्जनमा जोड्ने उद्देश्यले मोरङको विराटनगर महानगरपालिका–८ मा अर्गानिक हार्पिक, फिनेल, सरफ तथा साबुन बनाउने तीनदिने तालिम सञ्चालन गरिएको छ।
हलेसी महिला सशक्तीकरण सेवा केन्द्र विराटनगर–८ को आयोजनामा तथा विराटनगर महानगरपालिका वडा नं. ८ को सहयोगमा मङ्सिर १० गतेदेखि १२ गतेसम्म तालिम सञ्चालन गरिएको हो।
तालिममा १५ जना महिलाको सहभागिता रहेको छ। सहभागी महिलालाई अर्गानिक हार्पिक, फिनेल, सरफ तथा साबुन बनाउने विधिबारे प्रशिक्षक मीनकुमारी ओडारीले सैद्धान्तिक तथा व्यावहारिक प्रशिक्षण प्रदान गरिरहेकी छन्।
तालिमको उद्घाटन कार्यक्रममा विराटनगर महानगरपालिका वडा नं. ८ का वडाध्यक्ष राम पोखरेल प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। हलेसी महिला सशक्तीकरण सेवा केन्द्रकी अध्यक्ष सीता बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय उपभोक्ता मञ्चकी अध्यक्ष शोभा निरौलाको समेत उपस्थिति रहेको थियो।
कार्यक्रममा संस्थाका कार्यकारी सदस्यहरूको सहभागिता रहेको थियो। संस्थाकी सचिव कुमारी अधिकारी, सहसचिव सीता खड्का, कोषाध्यक्ष राजेश्वरी कार्की, सदस्य मीनकुमारी ओडारी र सदस्य शुभद्रा राजवंशी लगायतको उपस्थिति रहेको थियो।
तीनदिने तालिमको मुख्य उद्देश्य महिलाहरूलाई घरायसी सरसफाइमा प्रयोग हुने सामग्री आफैँ उत्पादन गर्न सक्षम बनाउनुका साथै सीपलाई आयआर्जनसँग जोड्नु रहेको आयोजकले जनाएको छ। तालिममा सिकेको सीपलाई व्यावसायिक रूपमा उपयोग गरी महिलाहरूले घरबाटै सानो उद्यम सञ्चालन गर्न सक्ने अपेक्षा गरिएको छ।
पछिल्लो समय महिलाहरूलाई सीप र उत्पादनसँग जोड्दै आर्थिक रूपमा सक्षम बनाउने आवश्यकता बढ्दै गएको अवस्थामा यस्ता कार्यक्रमले स्वरोजगारको अवसर सिर्जना गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।
महिलाको सीप विकास, क्षमता अभिवृद्धि र आर्थिक सशक्तीकरणलाई प्राथमिकता दिँदै हलेसी महिला सशक्तीकरण सेवा केन्द्रले सञ्चालन गरेको यस कार्यक्रमलाई स्थानीयस्तरमा महिला उद्यमशीलता प्रवर्द्धन गर्ने प्रयासका रूपमा लिइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]