फागुनभित्र हुलाकी सडक कालोपत्रे गरिसक्ने निर्माण व्यवसायीको प्रतिबद्धता

Logo
ग्रामीण पत्रिका प्रकाशित मंगलबार, भाद्र २५, २०८१

विराटनगर/ विराटनगर–४ र ५ नम्बर वडाको सिमानास्थित जामुनगाछी–केसलिया हुलाकी सडक आगामी फागुनभित्र कालोपत्रे गरिसक्ने निर्माण व्यवसायीले प्रतिबद्धता जनाएका छन्। लामो समयदेखि अलपत्र परेको सो सडक निर्माण कार्य फागुनसम्म सम्पन्न गर्ने आश्वासन मंगलबार भएको छलफलमा निर्माण व्यवसायी वासु उप्रेतीले दिएका हुन्।

 

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको पहलमा मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईको समन्वयमा स्थानीयवासी, निर्माण व्यवसायी र हुलाकी सडक आयोजना प्रमुखसहितको छलफल आयोजना गरिएको थियो। यस छलफलमा निर्माण व्यवसायी उप्रेतीले भदौ २६ गते बुधबारदेखि नै निर्माण कार्य सुरु गर्ने जानकारी दिएका छन्।

 

लामो समयसम्म निर्माण व्यवसायी सम्पर्कविहीन हुँदा स्थानीयवासीले सास्ती खेप्दै आएका थिए र सडकको दयनीय अवस्थाका कारण बारम्बार महानगरपालिका र जिल्ला प्रशासन कार्यालयमा सहयोग मागेका थिए। स्थानीयहरूले आवतजावतमा समस्या भएको भन्दै विरोधस्वरूप बाँससमेत तेर्स्याएका थिए।

 

महानगरपालिकामा भएको छलफलमा मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, हुलाकी सडक आयोजना प्रमुख युवराज पोखरेल, एसपी नवराज कार्की, निर्माण व्यवसायी वासु उप्रेती र स्थानीयवासीहरूको सहभागिता रहेको थियो। छलफलमा दसैंअगाडि सबै खाल्डाखुल्डी पुरिसक्ने र फागुनभित्र कालोपत्रे सम्पन्न गर्ने निर्णय गरिएको छ।

 

त्यस्तै, धुदुवा पैनीको प्राकृतिक निकासका लागि कल्भर्ट निर्माण गर्ने निर्णय पनि गरिएको छ। गणेशचोकदेखि केशलिया पुलसम्मको ३.१९५ किलोमिटर सडकको निर्माण कार्य २०७८ माघ २ गते ठेक्का सम्झौता भएको थियो। ठेक्का सम्झौतामा असार मसान्तभित्र निर्माण सम्पन्न गर्ने उल्लेख भए पनि समयमै सम्पन्न नभएकाले दुई पटक म्याद थप गरिएको थियो। यो सडक निर्माण कार्य भ्याटसहित १७ करोड रुपैयाँको लागतमा सम्पन्न गर्न लागिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]