

विराटनगर/ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले दशैंअघि चारवटा नगरबस सञ्चालनमा ल्याउने घोषणा गरेका छन्। नेकपा एमाले मोरङले महानगरलाई बुझाएको ६ बुँदे ध्यानाकर्षण पत्रको जवाफ दिने क्रममा मेयर कोइरालाले नगरबस सञ्चालनका लागि तयारी थालिएको जानकारी दिएका हुन्।
एमाले मोरङले ध्यानाकर्षण पत्रमा महानगरपालिकाको विकास निर्माणमा अपेक्षित प्रगति नदेखिएको भन्दै सडक निर्माण, ढल निकास, स्वास्थ्य, शिक्षा, तथा अन्य पूर्वाधारमा ध्यान केन्द्रित गर्न आग्रह गरेको थियो। एमालेका अनुसार, मेयर कोइरालाको अन्य स्थानीय तहका विरोध कार्यक्रममा संलग्नता र विकास योजनाको अभावले काम सुस्ताएको छ।
ध्यानाकर्षण पत्र बुझ्दै मेयर कोइरालाले विकासका लागि बजेटको अभाव रहेको उल्लेख गरे। उनले पत्रमा उठाइएका समस्याहरूलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन्।