विराटनगरमा १३औं अन्तर्राष्ट्रिय जितिया पर्व समारोह असोज ३ गते, पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा

Logo
ग्रामीण पत्रिका प्रकाशित शनिबार, भाद्र २९, २०८१

विराटनगर/ अप्पन बिराटगढ परोपकार समाजद्वारा आगामी असोज ३ गते विराटनगरमा १३औं अन्तर्राष्ट्रिय जितिया पर्व समारोहको आयोजना गरिने भएको छ। यो विशेष समारोहमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथि रहनेछिन्।

 

संस्थाकी अध्यक्ष बसुन्धरा झाका अनुसार अप्पन बिराटगढ परोपकार समाजले विगत १३ वर्षदेखि यो पर्व भव्यताका साथ मनाउँदै आएको छ। यसपटकको समारोहमा नेपालका विभिन्न जिल्लाहरूका साथै भारतबाट पनि प्रमुख व्यक्तित्वहरू उपस्थित हुने अपेक्षा गरिएको छ।

 

समारोहमा विराटनगरका सबै वडाका जातजातिहरू मौलिक भेषभूषामा सजिएर बृहत कलश शोभायात्रामा सहभागी हुनेछन्। साथै, नेपाल र भारतका ख्यातिप्राप्त मैथिली कलाकारहरूले गीत, संगीत, नृत्य, र झाँकीको प्रस्तुतिसमेत गर्नेछन्। स्थानीय विद्यालयका विद्यार्थीहरूले पनि विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नेछन्।

 

जितिया पर्वको ऐतिहासिक र सांस्कृतिक महत्त्वबारे संस्कृतिविज्ञहरूले चर्चा गर्ने कार्यक्रम पनि छ। मैथिली चित्रकला प्रदर्शनी र विभिन्न स्टलहरू राखिने छन्। कार्यक्रममा विभिन्न सामाजिक अभियन्ताहरूलाई सम्मानित गर्ने योजना रहेको छ।

 

समारोहमा करिब ५० हजारभन्दा बढी दर्शकहरूको सहभागिता हुने अनुमान गरिएको छ। साथै, यस कार्यक्रमलाई अनलाइन माध्यमबाट पनि प्रत्यक्ष प्रसारण गरी विश्वभरका दर्शकहरूले अवलोकन गर्न सक्ने व्यवस्था मिलाइएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]