सहिद शिबु माझिको परिवारको नागरिकता समस्या: सरकारको बेवास्ताले बलिदानीको अपमान

Logo
सरिता कर्मकार प्रकाशित सोमबार, भाद्र ३१, २०८१

सुनबर्षी/मोरङको सुनवर्षी नगरपालिका वडा नं. ९ माझी टोलका सहिद शिबु माझीको परिवार अहिले ठूलो पीडामा छ। मधेश आन्दोलनका क्रममा ज्यानको बलिदान दिएका शिबु माझीकी १७ वर्षीया छोरी वर्षा कुमारी माझीले आजसम्म नागरिकता पाउन सकेकी छैनन्। लामो समयदेखि प्रशासनको ढोका ढक्ढक्याउँदै आएका शिबु माझीको परिवारले अझैसम्म न्याय पाउन नसकेको हो।

शिबु माझीकी छोरीको जन्म दर्ता, शिबु माझीको सहिद प्रमाणपत्र, मृत्यु दर्ता सबै भए पनि नागरिकता नपाउनु अन्यायपूर्ण ठहरिएको छ। उनकी श्रीमतीले आँसु झार्दै भनिन्, “मेरो श्रीमानले जनताको अधिकारका लागि सहिद हुनुभयो, तर आज मेरी छोरीले आफ्नो अधिकारसमेत पाउन सकेकी छैन। के गल्ती छ मेरो सन्तानको?”

नेपालको संविधानको धारा ११ (२)(ख) अनुसार, नेपाली आमाको नामबाट सन्तानले नागरिकता प्राप्त गर्न पाउने प्रावधान छ। तर व्यवहारमा, शिबु माझीको परिवारले प्रशासनिक ढिलासुस्ती र अड्चन झेल्नुपरेको छ। परिवारले पटक–पटक निवेदन दिएर पनि नागरिकता नपाउनु अन्यायपूर्ण भएको भन्दै स्थानीयहरूले प्रशासनको आलोचना गरेका छन्।

सहिद शिबु माझीको परिवारलाई नागरिकता जस्तो आधारभूत अधिकार नदिनु मधेश आन्दोलनको भावना र मर्मको अपमान भएको स्थानीयले बताएका छन्। प्रशासनले कानूनी प्रावधानलाई सही रूपमा लागू गरी शीघ्र नागरिकता उपलब्ध गराउनुपर्ने माग गरिएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]