पितृपक्ष आरम्भ: आजदेखि सोह्रश्राद्ध विधिवत् सुरु

Logo
ग्रामीण पत्रिका प्रकाशित बुधबार, आश्विन ०२, २०८१

विराटनगर /आजदेखि आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृपक्ष विधिवत् रूपमा सुरु भएको छ। पितृपक्षका १६ दिनका तिथिमा दिवङ्गत पितृहरूको सम्झनामा तर्पण, सिदादान, र पिण्डदान गर्ने वैदिक परम्परा रहेको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईका अनुसार पिण्डदान अपराह्नकालमा गर्नु पर्छ।

प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म दिवङ्गत पितृलाई श्रद्धासहित तर्पण दिने परम्पराअनुसार सोह्र श्राद्ध गरिन्छ। यो समयलाई अपर पक्ष, प्रेत पक्षजस्ता नामले पनि चिनिन्छ। वैदिक सनातन परम्परामा विशेष गरेर चाडपर्व वा ठूला यज्ञयाग गर्नु अघि पितृको सम्मानका लागि सोह्रश्राद्ध गर्ने चलन छ।

धर्मशास्त्र अनुसार, सोह्र श्राद्ध नगर्दा अक्षम्य दोष लाग्न सक्छ भन्ने मान्यताका कारण यो कर्म गर्न आवश्यक ठानिन्छ। जाताशौच, मृताशौच, वा पत्नी रजस्वलाका अवस्थामा बाहेक सोह्र श्राद्ध नगर्ने धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले बताउनुभएको छ।

सोह्र श्राद्ध गर्न नसकिएमा त्यसका विभिन्न शास्त्रीय विकल्पहरू छन्। कुनै कारणवश समयमा गर्न नसकिएमा आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म, कार्तिककृष्ण औँसी (लक्ष्मीपूजाको दिन), वा वृश्चिक सङ्क्रान्तिमा पनि सोह्रश्राद्ध गर्न सकिन्छ।

पितृ पक्ष समाप्त भएपछि बडा दसैँको आरम्भ हुन्छ। पितृको तृप्तिका लागि सोह्रश्राद्ध गर्नाले पितृऋणबाट मुक्त हुने धार्मिक विश्वास रहेको छ।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]