जितिया पर्व: मातृस्नेहको अनुपम उदाहरण

Logo
सरिता कर्मकार प्रकाशित बिहिबार, आश्विन ०३, २०८१

नेपालका तराई क्षेत्रमा बसोबास गर्ने मधेशी र थारू समुदायका महिलाहरूले मनाउने विशेष पर्व हो—जितिया पर्व। यस पर्वलाई सन्तानको दीर्घायु, सुख, शान्ति र समृद्धिको कामनाका लागि मनाइन्छ। यो पर्व आश्विन कृष्ण पक्षको अष्टमी तिथिमा मनाइन्छ र चितवनदेखि झापासम्मका विभिन्न जिल्लामा यसको विशेष उल्लास देखिन्छ।

धार्मिक महत्व

जितिया पर्वको धार्मिक महत्त्व भविष्य पुराणमा वर्णित छ। पुराणअनुसार, राजा शालिवाहनका पुत्र जिमूतवाहनले महादेवको कृपाले व्रत बस्ने महिलाहरूलाई सन्तानको दीर्घायु र सुख-समृद्धिको वरदान दिएका थिए। तिनै भगवानलाई सन्तानको रक्षकका रूपमा पूजा गरिन्छ। यही कारणले जितवाहन भगवानको पूजा गर्दै महिलाहरू आफ्ना सन्तानको कल्याणका लागि व्रत बस्छन्। पुत्रहीन महिलाहरूले यो व्रतबाट पुत्र प्राप्तिको आशा राख्छन् भने विवाहित महिलाहरू आफ्नो सन्तानको दीर्घायु र समृद्धिको कामना गर्छन्।

जितिया व्रतको परम्परा

जितिया व्रतको मुख्य विशेषता भनेको कठोर उपवास हो। महिलाहरूले अघिल्लो रात “डटकर” नामक भोजन गरेर व्रतको तयारी गर्छन्। यो भोजनमा माछाको परिकार, चिउरा, दही, र अन्य परिकार खाने गरिन्छ। डटकर खाइसकेपछि महिलाहरूले पानीसमेत नखाई २४ घण्टासम्म व्रत बस्ने चलन छ। व्रतको दिन बिहानै खोलामा स्नान गरी पाँच जना कन्याले धानको गावा उखेल्ने चलन रहेको छ। महिलाहरूले थारू पहिरनमा सजिएर गाउँभरि नाचगान गर्दै पैसा संकलन गर्ने र मेलमिलाप गर्ने परम्परा छ।

दिनभरि उपवासमा रहँदा महिलाहरू गाउँको एक ठाउमा भेला भएर जितवाहन भगवानको कथा सुन्छन्। कथा सुनेर पूजा गरिसकेपछि सामूहिक रूपमा प्रसाद बाँड्ने चलन छ। दोस्रो दिन बिहानै उठेर दाइभाइको सङ्ख्याका आधारमा बेलको पातले धनुष बनाउने, जाकुर (मासको परिकार), पूजा सामग्रीसहित खोलामा स्नान गर्ने र घरमा आएर विभिन्न परिकारहरूको सेवन गरी व्रत समाप्त गर्ने प्रचलन छ।

जितिया पर्वको कथा

भविष्यपुराणमा उल्लेख भएअनुसार, कनकावती नगरको नर्मदा नदीको किनारमा एक पाकरीको रुख थियो। सो रुखको फेदमा स्यालनी र हाँगामा चिल बस्ने गर्थे। उनीहरूको मित्रता निकै घनिष्ठ थियो। एकदिन, जितिया पर्व मनाइरहेका व्रतालुले नर्मदा नदीमा स्नान गरी सोही रुखमुनि बसेर जितिया पर्वको कथा सुनाए। कथाको महत्त्व सुनेर स्यालनी र चिलले पनि जितिया पर्व मनाउने निर्णय गरे। तर, स्यालनीले मध्यरातमा एक व्यापारीको छोरोको मृत शरीर खाइन्, जसका कारण उनको व्रत भङ्ग भयो। स्यालनी र चिलको मृत्यु भएपछि स्यालनी कर्पुरावती र चिल शीलावती नामकी केटीको रूपमा जन्मिए। शीलावतीका सात सन्तान भए तर कर्पुरावतीका सबै सन्तान क्रमिक रूपमा मरे। यो देखेर शीलावतीले उनलाई व्रत भङ्ग गरेको कारण सुनाइन्। तब कर्पुरावतीले पनि भविष्यमा व्रत नतोड्ने वाचा गरिन्।

सामाजिक र सांस्कृतिक महत्त्व

जितिया पर्वमा विवाहित महिलाहरू माइती जाने गर्छन्। माइती पुगेकी छोरीलाई परिवारले विशेष सेवा-सत्कार गर्छन्, काम गर्न दिँदैनन् र विश्राम गराउँछन्। यसले सामाजिक सद्भाव बढाउने काम गर्छ। पूजा समाप्त भएपछि भान्जा-भान्जी र छोरीलाई नयाँ लत्ताकपडा दिएर बिदा गरिन्छ, जसले परिवारमा प्रेम र सद्भावना बढ्छ।

जितिया पर्व, मातृस्नेह र समर्पणको अद्वितीय प्रतीक हो। यो पर्वले सन्तानको सुख, समृद्धि र दीर्घायुको कामना गर्दै महिलाहरूलाई आफ्नो मातृत्वको बलिदान र कठोर परिश्रमलाई सम्मान गर्ने अवसर प्रदान गर्दछ। कठोर व्रत र उपवासका बाबजुद पनि महिलाहरूको अनुहारमा देखिने मुस्कान, सन्तानको कल्याणका लागि गर्ने निःस्वार्थ समर्पणको साक्षी हो। यहीँबाट जितियाको सन्देश स्पष्ट रूपमा झल्किन्छ: आमाको प्रेम, श्रद्धा र समर्पणको अगाडि कुनै पनि कठिनाई तुच्छ छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]