

विराटनगर/पाँचथर, २८ सेप्टेम्बर – पाँचथर जिल्लाको फिदिम नगरपालिका-४, चिसापानीमा आज बिहान पहिरो खस्दा आमा-छोरीको दर्दनाक मृत्यु भएको छ। स्थानीय प्रहरीका अनुसार, बिहान करिब ३ बजेतिर घरमा सुतिरहेका बेला खसेको पहिरोले फिदिम-१२ की २४ वर्षीया सपना शेर्पा र उनकी ५ वर्षीया छोरी डोल्मा शेर्पाको मृत्यु भएको हो। घरमा रहेका अन्य तीन सदस्य भने भागेर ज्यान जोगाउन सफल भएका छन्।
यसैगरी, धनकुटाको पाख्रीबास नगरपालिका-५ मा पनि आज बिहान पहिरोले घर पुरिँदा ३२ वर्षीया आशा तामाङ र उनकी आमा ५० वर्षीया रामकुमारी तामाङको मृत्यु भएको छ। घटनास्थलमा पुगेको स्थानीय प्रहरी टोलीले उद्धार कार्यमा जुटेको छ।
पहिरोका कारण भएको जनधनको क्षति गम्भीर रहेको र निरन्तर वर्षाका कारण पहिरोको जोखिम अझै बढिरहेको स्थानीय अधिकारीहरूले जनाएकाछन्।