

दशैं आउन केहि दिन मात्र बाँकी थियो। सबै आ–आफ्ना योजनामा व्यस्त थिए। कोही दशैंको टीका थाप्न कहाँ जाने भनेर सोच्दै थिए भने कोही बजारको भिडभाडबाट जोगिन समयमै किनमेल गर्न दौडिरहेका थिए। मौसम गर्मी थियो, धेरैजसोले यस्तो घाममा किनमेल गर्न कति गाह्रो भैरहेको छ भन्ने अनुभव गरिरहेका थिए। दशैंको उमंग भने चुलिएको थियो, केटाकेटीहरू नयाँ लुगा, मिठो परिकार र मामाघर जाने उत्साहमा रमाइरहेका थिए। सबैलाई यसपलिको दशैं विशेष बनाउने धोको थियो।
तर, अचानक मौसम परिवर्तन हुन थाल्यो। दिनभरि ज्वालामुखी गर्मीबाट राहत दिलाउने आशामा हल्का पानी पर्न सुरु भयो। सबैले यसलाई शीतलताका रूपमा लिएका थिए। पहिलो दिनको वर्षाले वातावरणलाई शीतल बनायो, सबै खुसी थिए। तर त्यो खुसी धेरै समय टिक्न सकेन। निरन्तर वर्षा सुरु भयो। पानी नथामिएपछि जनताको मनमा त्रासले ठाउँ लिन थाल्यो। दिनदिनै जल प्रकोपका खबरहरू आउन थाले।
धेरै स्थानमा डुबानको समस्या देखिन थाल्यो। धनकुटामा पहिरो जाँदा आमा र छोरीको ज्यान गयो भने मोरङमा खोला बगाएर केही मानिस बेपत्ता भए। कोशी नदीमा पानीको बहाव बढ्दै गएपछि बाँधका सबै ढोका खोलियो र जनतालाई सुरक्षित स्थानमा जान सूचित गरियो। काठमाडौं उपत्यकाको ललितपुरमा बाढीले घरहरू डुबायो, चार जना मानिसले घरको छानामा बसेर बच्न खोजे तर खोलाले सबैलाई बगाएर लग्यो। समग्र देशभरि पानीको विपत्ति फैलिँदै गयो, समाचारहरूले जनताको मनमा त्रास बढाइरह्यो।
यसपालिको दशैं तिहारको उमंग बाढीले बगायो। रातो टीका र जमरा लगाएर परिवारसँग हर्ष उल्लास मनाउने पर्व ठप्प भयो। धेरै ठाउँमा जमरा नै उम्रिन नपसउलान्। चोकचोकमा देखिने लिङ्गे पिङ यसपालि केहि ठाउमा नदेखिएला । चाडपर्वको रौनकता खोसियो, विपत्तिको चपेटामा परेका परिवारहरूले दशैं मनाउने त के, दैनिक जीवन गुजार्न कठिनाइ महसुस हुन थाले। सरकारले राहत दिनुपर्ने भनिए पनि सहयोग पुर्याउन सकेन। जहाँ सहयोग गर्नुपर्ने थियो, त्यहाँ सरकारको उपस्थिति देखिएन। हेलिकप्टरहरू नेताको सयरमा प्रयोग भइरहेका थिए, जनताको उद्दारका लागि होइन।
सरकारले ठूला ठूला योजनाहरूमा फजुल खर्च गर्यो। स्काईवाक, ठूला मूर्तिहरू निर्माण गरेर पैसाको दुरुपयोग भयो, तर जहाँ प्राथमिकता दिनुपर्ने थियो, त्यहाँ दिएन। बाढी पहिरोका समयमा उद्दारका लागि आवश्यक साधनसम्पन्नता भए पनि त्यसको सही सदुपयोग हुन सकेन। जनताले दशैंको बेला यस्तो ठूलो विपत्तिमा पर्दा राहत र सहयोगको आवश्यकता थियो, तर त्यहाँ सरकारले साथ दिन सकेन। सरकारको यो निकम्मापनले गर्दा जनताले सास्ती खेप्नु परेको छ।
जलवायु परिवर्तन र अव्यवस्थित मानव क्रियाकलापले गर्दा आज हामीले प्रकृति र त्यससँग जोडिएको जीवनमा गम्भीर असरहरू देख्न थालिसकेका छौं। निरन्तर वर्षा, अनिश्चित मौसम परिवर्तन र प्राकृतिक प्रकोपहरूले केवल मानव जीवन मात्र होइन, चरा-चुरुङ्गी र जनावरहरूको अस्तित्वलाई पनि चुनौती दिएको छ। रुखको हाँगामा घर बनाएर बसेका चराहरू रुख ढल्दा मृत्यु भइरहेको छ, र मानवको नजरले त्यो पीडा साक्षी बनेको छ। प्रकृतिको नाशले प्राकृतिक प्रणाली बिग्रँदै गएको छ, जसले सम्पूर्ण वातावरणलाई असन्तुलनमा ल्याएको छ। बर्खायामले गर्दा स्वास्थ्यमा पनि निकै समस्या ल्याउँछ। लाम्खुट्टेको संख्या बढ्न थाले सँगै डेङ्गु संक्रमण हुने, खानेपानी र खानेकुरा सफा नभएर झाडापखाला लाग्ने समस्या बढ्ने सम्भावना हुन्छ।
बेमौसमी वर्षाका कारण खेतमा लगाइएका अन्नबालीहरू नष्ट हुनु, नदीमा बग्नुजस्ता घटनाले किसानहरूको मिहिनेत पानीमा बगिरहेको छ। यही क्रम जारी रह्यो भने, भविष्यमा खाद्यान्नको अभावले भोकमरीको अवस्था सिर्जना हुने सम्भावना छ। हिउँदमा घाम लागेको बेला पानी पर्ने, गर्मी महिनामा अत्यधिक तापक्रम हुनु, र अन्य समयमा पनि असामान्य गर्मी अनुभव हुनु—यी सबै जलवायु परिवर्तनका प्रत्यक्ष लक्षण हुन्।
मानिसहरूले वातावरणको दोहन गर्दै बोटबिरुवा फडानी, उद्योगधन्दाबाट निस्किएको प्रदूषण, र वातावरणमैत्री उपायहरूको अवमूल्यन गर्दा पृथ्वीमा जलवायु परिवर्तनले विनाशकारी रूप लिएको छ। यदि यही क्रम निरन्तर जारी रह्यो भने, पृथ्वीले भयानक प्राकृतिक प्रकोपहरूको सामना गर्नुपर्नेछ, जसले मानव सभ्यता नै संकटमा पर्न सक्छ।
अझै पनि हामीले वातावरणको सुरक्षा र प्रकृतिप्रतिको सम्मानका लागि सचेत हुनुपर्ने समय आएको छ। हाम्रो सानो प्रयासले पृथ्वीलाई जोगाउन ठूलो योगदान दिन सक्छ। जलवायु परिवर्तनलाई कम गर्न र पृथ्वीलाई बचाउन हामीले अब सख्त कदम चाल्न जरुरी छ।
बर्षा संगै यस पटकको चाडपर्व बगेर गएको छ र नेपालीको महान चाड दसैं खल्लो हुन पुग्छ। जमरा र टिका लगाएर रातो हुने निदार सेतो वस्त्र लागाएर बसेको देखा पर्ने को संख्या धेरै हुने भयो। यसपालीको दशैं भनेको खोलाले बगाएको दशैं हो।