कोशी प्रदेशमा बाढीपहिरोले ४ अर्ब ६३ करोड रुपैयाँभन्दा बढीको क्षति

Logo
ग्रामीण सहकर्मी प्रकाशित सोमबार, आश्विन २१, २०८१

विराटनगर/ कोशी प्रदेशमा हालैको बाढीपहिरोले ४ अर्ब ६३ करोड ५० लाख रुपैयाँ बराबरको भौतिक पूर्वाधारमा क्षति पुर्याएको छ। भौतिक पूर्वाधार मन्त्रालयका अनुसार असोज ९ गते रातिदेखि परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोले प्रदेशका विभिन्न जिल्लामा ठूलो क्षति पुर्याएको हो।

कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईका अनुसार बाढीपहिरोबाट आंशिक क्षति पुगेका पूर्वाधार पुनर्निर्माणका लागि १ अर्ब २ करोड ५० लाख रुपैयाँ बजेट लाग्ने अनुमान गरिएको छ। पूर्णरूपमा क्षतिग्रस्त भएका पूर्वाधार पुनर्निर्माण गर्न ३ अर्ब ६१ करोड रुपैयाँ खर्च लाग्ने बताइएको छ। मन्त्री राईले आंशिक क्षति भएका संरचनाहरूको तत्काल मर्मत गरेर सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिए।

मन्त्रालयका अनुसार बाढीपहिरोका कारण प्रदेशका ६० वटा सडक, १५ वटा सडक पुल, र १७ वटा झोलुङ्गे पुलमा आंशिक क्षति पुगेको छ। उदयपुर र खोटाङलाई जोड्ने पक्की पुलको वैकल्पिक व्यवस्था गरिसकिएको छ भने इलाममा भासिएको सडकको वैकल्पिक मार्गबाट यातायात सञ्चालनको प्रयास भइरहेको छ।

चाडपर्वको समयमा आवतजावतमा कुनै समस्या नहोस् भन्नका लागि प्रदेशका कुनै पनि जिल्लाका बासिन्दालाई सहज आवागमनको व्यवस्था गर्न मन्त्रालयले आवश्यक कदमहरू चालिसकेको मन्त्री राईले बताए।

बाढीपहिरोबाट प्रभावित भौतिक पूर्वाधारको पुनर्निर्माणका लागि प्रदेश सरकारले विशेष योजना तयार पार्दैछ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]