बडादसैँको मुख्य दिन आज, नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाइँदै

Logo
ग्रामीण सहकर्मी प्रकाशित शनिबार, आश्विन २६, २०८१

विराटनगर/बडादसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज देशभर मान्यजनको हातबाट नवदुर्गाको प्रसादस्वरूप रातो टीका र समृद्धिको प्रतीक जमरा लगाइँदैछ। विजयादशमीका दिन नवदुर्गाको प्रसाद ग्रहण गर्नका लागि शुभ साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले बिहान ११ः३६ बजेको साइत उत्तम रहेको जनाएको छ।

दशैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा गरिएको प्रसाद आज मान्यजनले श्रद्धापूर्वक लगाइदिने चलन छ। समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीका अनुसार विजयादशमी आफैंमा शुभ दिन भएकाले सामान्य मानिसले साइत खोज्नु आवश्यक छैन, तर राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने शास्त्रीय मान्यता रहेको छ।

घटस्थापनाको दिन स्थापना गरिएको पूर्ण कलशको जलबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाउने गरिन्छ। आज नाभ्याउनेले कोजाग्रत पूर्णिमासम्म टीका र जमरा ग्रहण गर्न सक्नेछन्।

जमरालाई समृद्धिको प्रतीक मानी लगाइन्छ, र यो विभिन्न रोग-व्याधमा औषधिका रूपमा समेत उपयोगी भएको वैज्ञानिकरूपमा पुष्टि भइसकेको छ। यसैबिच, नेपालका विभिन्न जिल्लामा फैलिएको डेङ्गुको संक्रमणका कारण आयुर्वेद चिकित्सकहरूले जमराको जुस सेवन गर्नाले रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुने सुझाव दिएका छन्।

विजयादशमी असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीक हो, जसलाई भगवान् रामले रावणमाथि विजय प्राप्त गरेको दिनका रूपमा पनि स्मरण गरिन्छ। आज गुरु, पुरोहित, हजुरबा-हजुरआमा, आमा-बुवालगायतका मान्यजनबाट टीका, जमरा तथा आशीर्वाद थापेर यश, ऐश्वर्य र दीर्घायुको कामना गरिन्छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]