मोरङ प्रहरी प्रमुख एसपी चिमरिया र विराटनगर मेयर कोइरालाबीच शान्ति सुरक्षा विषयमा भेटघाट

Logo
ग्रामीण सहकर्मी प्रकाशित बुधबार, कार्तिक ०७, २०८१

विराटनगर/ जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी नारायण चिमरिया र विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाबीच मंगलबार शान्ति सुरक्षा सम्बन्धमा भेटघाट सम्पन्न भएको छ। सोमबारदेखि मोरङ प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्नुभएका एसपी चिमरियाले विराटनगर महानगरपालिकाको कार्यालयमै पुगेर मेयर कोइरालासँग छलफल गरेका हुन्।

भेटघाटमा कोशी प्रदेशको राजधानी विराटनगरमा शान्ति सुरक्षाको अवस्था सुधार गर्ने, विशेष गरी प्रादेशिक सरकार र उच्च पदस्थ अधिकारीहरूको सुरक्षा सुनिश्चित गर्ने विषयमा कुराकानी भएको थियो। कोशी प्रदेशको राजधानी रहेका कारण यहाँ प्रादेशिक सरकारका विभिन्न महत्वपूर्ण पदाधिकारीहरू रहने भएकाले शान्ति सुरक्षा थप प्रभावकारी बनाउनु पर्ने आवश्यकतामा जोड दिइएको छ।

एसपी चिमरियाले आगामी २०८१ माघ ११, १२, र १३ गते विराटनगरमा आयोजना हुने लगानी सम्मेलनलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्थालाई अझ सुदृढ बनाउनु पर्ने बताए। यस सम्मेलनमा विदेशी लगानीकर्ता, दातृ निकायका प्रतिनिधि, र गैरआवासीय नेपाली (एनआरएन) का पदाधिकारीहरूको सहभागिता हुने भएकाले सुरक्षा उच्चस्तरको बनाउनु अपरिहार्य रहेको छ।

मेयर कोइरालाका प्रेस संयोजक मीनकुमार नवोदितका अनुसार, एसपी चिमरियाले शान्ति सुरक्षा कायम राख्न महानगरपालिकाको सहयोगको अपेक्षा गरेका छन्। विराटनगर महानगरपालिकाको सुरक्षा व्यवस्थामा महत्वपूर्ण भूमिका रहने भएकाले एसपी चिमरियाले सहकार्यको लागि मेयर कोइरालासँग अनुरोध गरेका हुन्।

यसअघि सोमबार मोरङको प्रहरी प्रमुखको रूपमा कार्यभार सम्हालेका एसपी चिमरियाले बुधबार मोरङका सञ्चारकर्मीहरूसँग पनि भेटघाट गर्ने कार्यक्रम तय गरेका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]